हराएको २४ घण्टापछि भेटिए तीन बालिका

विराटनगर । शनिवार परिवारबाट सम्पर्कविहीन भएका तीन बालिका विराटनगरमा फेला परेका छन् । मोरङको लेटाङ नगरपालिकामा रहेको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत तिनै जना बालिका शनिवार बिहानदेखि बेपत्ता भएका थिए ।  हराएका बालिकाहरू २४ घण्टापछि विराटनगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बेपत्ता भएका बालिकाहरू  लेटाङ नगरपालिका–३ की १३ वर्षीय रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीय अनुष्का राई र १४ वर्षीय सविना राई विराटनगर महानगरपालिका–१४ जतुवामा रहेको  देवी राईको घरमा फेला परेको   जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।  बिहान ११ बजे फेला परेका उनीहरूलाई परिवारको जिम्मा लगाई सकेको  उनले बताए ।  घरबाट फुटबल हेर्न भनेर निस्किएका तिनै जना बालिका साँझसम्म पनि घर नफर्किएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

अभिभावकबाट सम्पर्कविहीन बनेको भन्दै प्रहरीमा जानकारी आएपछि खोजी गर्ने क्रममा उनीहरू जतुवामा फेला परेको  श्रेष्ठले बताए । सविनाकी आमाको घरमा बालिकाहरू  फेला पारिएको प्रहरी दाबी  छ । १२ वर्षअघि आमाले दोस्रो बिहे गरेपछि सविना हजुरआमासँग लेटाङमै बस्दै आएको पाइएको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *