कांग्रेस संसदीय दलका नेता कोइरालाले फिर्ता गरे सरकारी गाडी
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले आफूले पाएको सुविधाको गाडी संसद् सचिवालयमा फिर्ता गरेका छन् ।
कोइरालाले आफूले प्रयोग गर्दै आएको को १ झ ६५४ नम्बरको गाडी संसद् सचिवालयलाई बुझाएका हुन् । कोइरालाको सचिवालयका अनुसार उनले सोमबार सो गाडी प्रदेश सभा सचिवालयलाई बुझाएका हुन् ।
प्रदेश सभाले कोइरालालाई को १ झ ६५४ नम्बरको स्कारपियो उपलब्ध गराएको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उनी सुनसरी क्षेत्र नम्बर २ बाट नाम सिफारिसमा परेर प्रतिनिधिसभाको लागि उम्मेदवार हुने तयारीमा छन् ।
भोलिका दिनमा नैतिकतामा प्रश्न उठ्ने भएकाले समयमै गाडी बुझाएको कांग्रेस संसदीय दलका नेता कोइरालाले बताए । २०७४ को निर्वाचनमा कोइराला सुनसरी क्षेत्र नम्बर २ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रदेश सभाका सचिव गोपाल पराजुलीले प्रदेश १ मा अहिले गाडी फिर्ता गर्न सोध्नेहरू धेरै जना माननीय ज्यूहरू सम्पर्कमा आउनु भएको बताए । उनले नेपाली कांग्रेसका संसदीय दलका प्रमुख राजीव कोइरालाले मात्र आज फिर्ता गरेको बताए ।
सुविधा फिर्ता गर्ने बारेमा भदौ मसान्तसम्ममा धेरै सुविधाको गाडीहरू फिर्ता भइसक्ने उनले बताए । प्रदेश सभामा संसदीय समितिका सभापति, प्रदेश सभामा सत्तापक्ष दलका प्रमुख सचेतक, विपक्षी दलका नेता र प्रमुख सचेतकले गाडी सुविधा पाउँदै आएका छन् ।
प्रदेश सभाका सदस्यको कार्यावधि असोज १ गतेदेखि सकिँदै छ ।