कर्णालीमा आजबाट प्रदेश स्तरीय सुशासन सम्मेलन हुँदै
सुर्खेत । कर्णाली प्रदेश स्तरीय सुशासन सम्मेलन आजबाट वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ । यो सम्मेलन दुई दिन हुनेछ ।
सहकर्मी समाज नेपाल, सुशासनमा नागरिक सहभागिता कार्यक्रमको संयोजनमा ‘समीक्षा, संवाद र समाधान’ भन्ने मूल नारा सहित २०७९ भदौ २८ र २९ गते वीरेन्द्रनगर सुर्खेतमा हुने प्रदेश स्तरीय सुशासन सम्मेलन २०७९ ले सङ्घीयताको पहिलो पाँचवर्षे कार्यकालमा भएका सुशासनका गतिविधिहरूलाई सूक्ष्म तरिकाले सरोकारवालाहरूले समीक्षा, विश्लेषणका आधारमा भविष्यका लागि गर्नुपर्ने कामका बारेमा सम्मेलनका निष्कर्षहरू सिफारिस गरी कर्णाली प्रदेशमा सुशासनको विद्यमान अवस्थामा व्यापक सुधार ल्याउन योगदान गर्ने विश्वास लिइएको छ ।
कर्णाली प्रदेश सुशासन सम्मेलनमा सुशासन सबलीकरणमा भएका राम्रा अभ्यासहरू र सुधार गर्नुपर्ने विषयहरूको पहिचान गरी आगामी अवधिका लागि सामूहिक सुधार योजना समेत सहभागितामूलक छलफल र अनुभव आदान प्रदान विधिबाट निचोड निकाल्ने प्रयास गरिनेछ ।
साथै समुदाय स्तरका नागरिकहरू, पालिका, जिल्ला तथा प्रदेशस्तरमा कार्यरत संघसंस्था र सरोकारवालाहरू, स्थानीय सरकारका प्रमुख तथा उप प्रमुखहरू, प्रदेश सरकारका मन्त्रीहरू तथा कर्मचारीहरू, प्रदेशसभाका सांसदहरूको उपस्थितिमा विभिन्न सत्रहरू सञ्चालन हुने सहकर्मी समाज नेपाल कार्यक्रम संयोजक हरि उपाध्यायले जानकारी दिए ।