विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रमा पुगे सुनिल

विराटनगर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरू चुनावी अभियानमा जुटेका छन् । उम्मेदवार बन्न लागेकाहरू जनताको घरदैलोमा पुगेर आश्वासन बाँड्दै भोट माग्न व्यस्त छन् ।

यही परिवेशका एक फरक पात्र हुन् डा सुनील शर्मा, प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारका लागि सर्वसम्मत रूपमा एकल नाम सिफारिसमा परेका डा।शर्माको चुनावी अभियान अलिक फरक छ ।

उनी जनताको घरदैलोमा आश्वासन हैन सेवा दिन पुगिरहेका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा. शर्मा निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुग्दा विशेषज्ञ डाक्टरहरूको टोली लिएर पुग्छन् ।

उनले स्वास्थ्य शिविर मार्फत सो क्षेत्रका जनतालाई स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइरहेका छन् । नोबेल अस्पतालबाट पनि सो क्षेत्रका जनता धेरै लाभान्वित छन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि डा. शर्मा सोही क्षेत्रमा कांग्रेसबाट चुनाव भिडेका थिए । कम्युनिस्टको किल्ला मानिने सो क्षेत्रमा एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भए पनि भारी मात्रामा मतान्तर घटाउन डा।शर्मा सफल भए ।

बेलबारी स्थायी घर भएका डा. शर्मा चुनाव हारेर पनि सो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन् । निर्वाचनमा पराजित भएपछि पनि डा।शर्माले सो क्षेत्रमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराइरहेका छन् ।

क्षेत्र नं. ३ मा सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीका २६ वडा पर्छन् । अहिले सो क्षेत्रमा दैनिक तीन वटासम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । शिविरमा नोबेल अस्पतालका विशेषज्ञ डाक्टरहरूले बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

उपचारमा ख्याति कमाएका नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्राडा रामहरि घिमिरे, मुटुरोग विशेषज्ञ प्राडा राजेश नेपाल, स्त्री रोग विशेषज्ञ द्वय प्राडा शान्ति सुवेदी, प्राडा सीता घिमिरे लगायत विशेषज्ञ डाक्टरहरूसहितको टोली शिविरमा जाने गरेको छ । अस्पताल पुग्दा पनि सबै बिरामीले सहज रूपमा भेट्न हम्मेहम्मे पर्ने विशेषज्ञ डाक्टरहरू उपचारका लागि गाउँमै आउँदा धेरै सजिलो भएको सर्वसाधरणहर बताउँछन् ।

नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराइरहेका डा।शर्माले गत वर्ष घर–घरमा डाक्टर घर घरमा नर्स अभियान पनि सञ्चालन गरेका थिए । यसवर्ष एम्बुलेन्स क्याम्प सञ्चालन गरेर गाउँ–गाउँमै विशेषज्ञ डाक्टर पठाई बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो ।

शिविरमा उपचार सम्भव नभएकालाई डा. शर्माले नोबेल अस्पतालकै गाडीमा अस्पताल ल्याएर उपचार पश्चात् घर पुर्‍याउने व्यवस्था पनि मिलाइदिएका छन् । डा. शर्माको यो अभियानबाट हजारौँ बिरामीले लाभ लिइसकेका छन् ।

आफ्नो क्षेत्रका नागरिकलाई सकेको सहयोग गर्न यो अभियान सञ्चालन गरेको डा।शर्मा बताउँछन् । ‘अहिले चुनाव आएर मात्र निःशुल्क उपचारको अभियान चलाएको हैन, पहिले देखिनै निरन्तर चलिरहेको छ,’ डा शर्मा भन्छन्, ‘आफ्नो गाउँठाउँका जनतालाई सकेको सहयोग गरौँ भनेर यो अभियान चलाइएको हो ।’

आफूले जनतालाई व्यक्तिगत तवरबाट निरन्तर सहयोग पुर्‍याउँदै आएकाले चुनावमा जनताले आफूलाई सहयोग गर्ने डा।शर्माको अपेक्षा छ । ‘म पैसा कमाउन राजनीतिमा आएको हैन, जनताको सेवा गर्न आएको हुँ,’ डा. शर्मा भन्छन्, ‘चुनाव हार्दा पनि जनताको सेवा गरिरहेको छु, अझै जनताले चुनाव जिताउनु भयो भने व्यक्तिगत रूपमा र सरकारी तवरबाट पनि अझ बढी सेवा गरेर देखाउँछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *