नोबेलको शिविरबाट बेलबारी र सुन्दरहरैंचाका ९ सय बिरामीले पाए निःशुल्क उपचार

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले शुक्रवार मोरङको सुन्दरहरैंचा र बेलवारीका तीन स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब ९ सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले विपन्न बिरामीलाई लक्षित गर्दै बेलवारी नगरपालिका वडा नम्बर ८, ९ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा शिविर सञ्चालन गराएका हुन् ।

तीन वटा शिविरबाट ८९३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार बेलवारी-८ मा सञ्चालित शिविरमा ८७ जनाको इसीजी, १०३ जनाको रक्त परीक्षण, ९९ जनाको भिडियो एक्स-रे र १३ जनाको दाँत उखेलिएको छ । नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरि घिमिरे र स्त्री रोग सम्बन्धी डा.प्रतिमा काफ्लेसहितको टोलीले शिविरमा ३२४ बिरामीको स्वास्थ्य परीक्षण गरेको छ ।

त्यस्तै, बेलबारी नगरपालिका-९ स्थित डाँगीहाटमा पनि शिविर सञ्चालन गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरूको टोलीले ११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा आएका ८९ जनाको मुटुको जाँच ईको गरिएको छ ।

यता, सुन्दरहरैंचा वडा नम्बर ४ मा सञ्चालित शिविरमा ४५६ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १११ जनाको इसीजी, १०७ जनाको रक्त परीक्षण र १३७ जनाको भिडियो एक्स-रे गरिएको छ भने दाँतमा समस्या भएर आएका १७ जनाको दाँत फुकालिएको छ । शिविरमा नोबेलका स्त्री रोग विशेषज्ञ प्रा.डा.सीता घिमिरे नेतृत्वको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

तीन वटै शिविरबाट थप उपचारका लागि १२२ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । रेफर भएका बिरामीहरूलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात् घर पुर्‍याउने व्यवस्था मिलाइदिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *