एउटा पहिरोले उत्तरी गोरखामा भोकमरीको डर

पोखरा । चुमनुब्री गाउँपालिका सडक सञ्जालले छुन नसकेको पालिका हो । अहिले पनि घोडा, खच्चड र मान्छेलाई बोकाएर सामान ढुवानी हुन्छ । मान्छे बिरामी पर्दा हेलिकोप्टर चार्टर गर्नुको विकल्प छैन ।

चुमनुब्रीकै लोक्पामा झरेको पहिरोका कारण अहिले त्यस क्षेत्रमा आवतजावत रोकिएको छ । वडा नम्बर ६ को ड्युखोला र सर्दीभीरमा ३ महिनादेखि पहिरो झरेको छ । उक्त पहिरो नपन्छाउँदा खाद्यान्न ढुवानी समस्या भएको हो । चुम्चेत र छेकम्पार क्षेत्रका नागरिकलाई अहिले दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ ।

पहिरो करिब ८ सय मिटर लामो छ । पहिरोका कारण मान्छे र खच्चड हिँड्न नसकेको वडाध्यक्ष सरोज लामाले बताए । ‘जतिचोटी पन्छाएपनि पहिरो झर्न छोडेन । वैकल्पिक बाटो पनि छैन,’ उनले भने, ‘वडा नम्बर ६ र ७ का बासिन्दा मर्कामा परेका छन् ।’

करिब ५ सय घरधुरीका नागरिकलाई खाद्यान्न अभाव हुने अवस्था देखिएको उनले बताए । खाद्यान्न मात्रै होइन, धार्मिक र सांस्कृतिक काम गर्न पनि सामान नपाएको उनीहरूको गुनासो छ । ‘गुम्बामा बाल्ने बत्ति सकियो । तेल पनि छैन । चामल नपाएको धेरै भइसक्यो,’ स्थानीय ङवाङ लामा भन्छन्, ‘न पितृकार्य गर्न पाएका छौँ, न गाउँलेलाई खुवाउन पाएका छौँ । घरमै खाने अन्न सकिने बेला भयो ।’

पहिरोका कारण बाहिरका मान्छे गाउँ फर्किन पनि सकेका छैनन् । चुमभ्याली आउजाउ गर्न पर्यटकलाई समस्या परेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । गत वर्षपनि यही पहिरोका कारण हेलिकोप्टरबाट सामग्री ढुवानी गर्नुपरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *