गण्डकीमा ‘हेवीवेट’ उम्मेदवारः प्रचण्डदेखि चित्रबहादुरसम्म

पोखरा । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकीबाट प्रतिनधिसभा तर्फ प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरु उम्मेद्वार बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका छन् भने वीपी पुत्र तथा कांग्रेसका केन्द्रीय सदस्य डा. सशांक कोइरालाले नवलपुर १ बाट मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिए । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट उम्मेद्वारी दर्ता गरेका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्या अर्याल स्याङजा २ बाट प्रतिश्पर्धामा छन् ।

११ सांसद दोहोरिने दाउमा

गण्डकीका ११ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पूरानै सांसद दोहोरिने प्रयासमा छन् । बागलुङ १ मा डा. सूर्य पाठक, बागलुङ २ मा देवेन्द्र पौडेल, मुस्ताङमा प्रेम तुलाचन, मनाङमा पोल्देन छोपेन गुरुङ, कास्की २ मा विद्या भट्टराई, स्याङजा १ मा नारायण मरासिनी, स्याङजा २ मा पद्या अर्याल, पर्वतमा पदम गिरी, लमजुङमा देवप्रसाद गुरुङ, नवलपुर १ मा डा. सशांक कोइराला र नवलपुर २ मा तिलबहादुर महत क्षेत्रीले उम्मेद्वार बन्नका लागि मनोनयन दर्ता गरेका छन् । यहाँ १८ निर्वाचन क्षेत्र पर्छ ।

प्रदेशसभा तर्फ १० सांसद दोहोरिन खोजेका छन् । मनाङबाट राजीव गुरुङ उर्फ दीपक मनाङे, तनहुँ १ (क) का रामबहादुर गुरुङ र (ख) का हरिबहादुर चुमान, कास्की १ (क) का दीपक कोइराला, २ (ख) का विन्दुकुमार थापा र ३ (ख) का राजीव पहारीले दोश्रो कार्यकालका लागि उम्मेद्वारी दिएका छन् ।
स्याङजा १ (ख) का मीनप्रसाद गुरुङ र २ (क) का मोहन रेग्मी, नवलपुर १ (ख) का रोशन गाहा थापा र २ (क) का विष्णुप्रसाद लामिछाने पनि दोहोरिन खोजेका छन् । यस्तै, मुस्ताङ (क) का इन्द्र धारा विष्टले दोश्रो कार्यकालका लागि मनोनयन दर्ता गरेका छन् । यसबाहेक केही पुर्व समानुपातिक सांसद अहिले प्रत्यक्षमा छन् भने केही सांसदहरु संघको समानुपातिक सुचीमा पनि परेका छन् ।

संघबाट प्रदेशमा झरेका प्रभावशाली नेता

एमाले नेता खगराज अधिकारी पार्टीभित्र बलियो प्रभाव राख्छन् । २०७० को निर्वाचनमा उनी सांसद नहुँदा पनि स्वास्थ्यमन्त्री बने । २०७४ को निर्वाचन जितेपछि अधिकारी गृहमन्त्री बने । तर राजनीतिक घटनाक्रमका कारण १३ दिनमै उनको पद खोसियो । उनै अधिकारी अहिले प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा प्रदेश सभामा प्रतिश्पर्धा गर्दै छन् । उनले कास्की १ (क) बाट उम्मेद्वारी दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी भए । उनले २ वर्षको कार्यकाल सांसद भएर काम गरे । उनी पनि कांग्रेसभित्र प्रभावशाली नेता हुन् । उनी पनि अहिले मुख्यमन्त्रीको दाउमा प्रदेशमा झरेका छन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट उनले उम्मेद्वारी दिए । माओवादी नेतृ अमृतादेवी थापामगर हाल प्रतिनिधिसभा सांसद हुन् । उनी अहिले स्याङजा १ (क) बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बनेकी छिन् ।

प्रदेशबाट संघ ताकेका को हुन् ?

प्रदेश सांसदहरु संघ ताक्ने पनि छन् । पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यो चुनावमा संघको प्रतिश्पर्धामा छन् । तनहुँ २ (ख) का किरण गुरुङले अहिले संघ रोजेका छन् । कास्की ३ (क) बाट सांसद बनेका गण्डकीका बहालवाला अर्थमन्त्री रामजी बराल पनि संघतिर सोझिएका छन् । गोरखा १ (ख) का पुर्व सांसद तथा पुर्व भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेले पनि संघ रोजेका छन् भने कास्की १ (ख) का प्रदेश सांसद मनबहादुर गुरुङले अहिले कास्की १ बाटै संघको प्रतिश्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *