मनि ट्रान्सफरमा डकैती गर्ने चार जना पक्राउ
विराटनगर । ताप्लेजुङमा मनि ट्रान्सफरमा डकैती गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। फुङलिङ नगरपालिका–५ वीरेन्द्र चोकमा अम्बर श्रेष्ठले सञ्चालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ वर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ वर्षीय चुन बहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ वर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ वर्षीय टाइगर भन्ने गजेन्द्र लिम्बु रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
गत असोज १७ गते बिहान कञ्चन मनि ट्रान्सफरमा ४ जनाको समूह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी आशामाया प्रधानलाई कुटपिट गरी डकैती गरेको थियाे । सो समूहले सेफमा राखेको करिब ३४८ तोला सुनका विभिन्न गरगहनाहरू र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ समेत डकैतीगरि भागेको प्रहरीले जनाएको छ।
प्रहरीले खोज तलासको क्रममा संलग्न ३ जनालाई सुनको विभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँ र १ थान पेस्तोल सहित पक्राउ गरिएको हो भने गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।