अस्ताए नेपाली संस्कृतिका जिउँदो इतिहास
काठमाडौँ । नेपाली संस्कृतिका जिउँदो इतिहास थिए, सत्यमोहन जोशी । संस्कृतिविद् एवम् शताब्दी पुरुष जोशी अब हामीमाझ छैनन् । कहिल्यै नफर्किने गरी आज बिहानबाट उनी बिदा भइसकेका छन् ।
१०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उनले प्राणपखेरु त्यागे । लामो समयदेखि मुटु र प्रोष्टेटको समस्याले गलेपछि किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना भएका जोशीको त्यही नै बिदा भए। उनलाई पिसाब संक्रमण, छाती तथा मुटुको समस्याका साथै डेंगी पनि देखिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
सत्यमोहन जोशीको जन्म विसं १९७७ बैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो। उनले तीन पटकसम्म मदन पुरस्कार जितेका छन् । उनले २०१३, २०१७ र २०२८ मा मदन पुरस्कार पाएका छन्। तीन पटकसम्म मदन पुरस्कार जित्ने नेपालकै पहिलो व्यक्ति हुन् सत्यमोहन ।
गाउँगाउँ डुलेर ‘लोक संस्कृति’ नामक पुस्तक लेखे । यही पुस्तकले २०१३ सालमा मदन पुरस्कार पायो । मदन पुरस्कार गुठी पनि यही वर्ष स्थापना भयो । उनले लिच्छवीकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरुको खोज गरे । नेपालको हरेक संस्कृतिको उत्खनन् गर्न र प्रचारमा ल्याउने जोशीले ठूलो भूमिका खेले । ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि उनले दोस्रो पटक मदन पुरस्कार पाएका थिए। तेस्रो पटक २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए ।
नेपाली हरेक संस्कृतिको खोज र अनुसन्धानमा जोशी सदैव सक्रिय भए । पुरातत्व विभागका पहिलो निर्देशक बन्ने सौभाग्य प्राप्त गरेका जोशीले संस्कृतिसम्बन्धी १० वटा पुस्तक प्रकाशित गरेर बजारमा ल्याएका थिए । दुई वटा काव्य, पाँच कथा संग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरु लेखे ।
नेपाली संस्कृतिको जगेर्ना, संरक्षण, उत्खनन्मा उनले आफ्नो शताब्दी जीवन नै लगाएका छन् । कलाकार अरनिकोलाई चिनाउने, उनी नेपाली हुन्, जसले तिब्बतमा नेपाली कलाकारिताले प्रस्तुत गरे भन्ने जानकारी दिने पहिलो व्यक्ति सत्यमोहन जोशी हुन् । जोशीले चीनमा बस्दा अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन अनुसन्धान गरेर ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक समेत गरेका थिए ।
नेपालमा गाईजात्रा महोत्सव भित्र्याउने व्यक्ति नै संस्कृतिविद् जोशी हुन् । तत्कालीन राजा वीरेन्द्रले विरोधीको स्वर सुन्न एउटा व्यवस्थित ठाउँ खोज्न आग्रह गर्दा त्यस्तो काम प्रज्ञा प्रतिष्ठान हुने र जहाँ गाईजात्रा चलाउन सकिने सुझाव दिए । राजा वीरेन्द्रले गाईजात्रा चलाउन निर्देशन दिएपछि जोशीले नै नेपालमा गाईजात्रा कार्यक्रम सुरु गरेका थिए । नेपाली संस्कृतिका यस्ता धरोहरलाई आज हामीले गुमाएका छौँ । हार्दिक श्रद्धाञ्जली ।