ठूलो मात्रामा चाँदीका गहनासहित पोखराबाट २ जना पक्राउ
पोखरा । अवैध रूपमा चाँदीका गरगहना विक्री वितरण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । उनीहरूलाई ताल चोकबाट पक्राउ गरिएको हो ।
चेकजाँच गर्ने क्रममा बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भएका २१ वर्षीय राजु कुमार शाह र नेपालकै बारा करेयामाई ८ का ३४ वर्षीय सरोज मियाँ मन्सुर छन् ।
राजुको साथबाट साडी पिन १६ थान, सिन्दूर दानी ९ थान, जन्तर ४ प्याकेट, चाबी पिन २० थान, पाउजु १ सय १ थान बरामद भएको छ । उक्त सामानको मूल्य १ लाख भन्दा बढी पर्छ । सरोजको साथबाट नगद ५७ हजार सहित एउटा सिन्दूर दानी, १ सय ६५ थान सिक्का, ६ थान कछुवा, ८९ थान पाउजु, ५३ थान झुम्का, १८ थान मूर्ति, २ थान घण्टी, ९ थान चाबी पिन र २० थान साडी पिन बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त सामानको मूल्य २ लाख १३ हजार भन्दा बढी पर्छ । उनीहरूलाई अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।