चितवनमा नमूना मतदान

चितवन । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा नमूना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले संयुक्त रुपमा मतदान गरेर नमूना मतदानको शुभारम्भ गरेका थिए । पहिलो हुने निर्वाचन प्रक्रियाअन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो ।

मतदानपछि प्रतिक्रिया दिँदै मुख्य निर्वाचन अधिकृत थापाले वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि पनि नमूना मतदान गरिएको बताए । प्रत्यक्षदर्शीलाई सिकाउनका लागि नमूना मतदान गरिने उनले बताए ।

उनले भने, “मतपत्र सानो भएकाले असहज छैन । तीन मिनेट ३० सेकेण्डमा मतदान सकेको छु ।” स्थानीय तहको निर्वाचनभन्दा अहिलेको निर्वाचन सहज रहेको उनको भनाइ थियो । व्यवस्थापनमा लाग्ने कर्मचारी चनाखो हुन सकेमा खासै समस्या नआउने उनले बताए । यसपालि जति उम्मेदवार त्यति चिह्न भएको मतपत्र आउने भएकाले बदर हुने समस्या न्यून रहने थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समानुपातिक मतपत्र ठूलो हुने भएकाले केही असहज भए पनि प्रत्यक्षतर्फ सानो मतपत्र हुने भएकाले सहज हुने बताए। स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सात छाप लगाउनुपर्ने हुँदा मतदाता झुक्किने भए पनि अहिले एउटा मतपत्रमा एउटा छाप लगाउँदा मतदातालाई सहज हुने उनको भनाइ थियो ।

निर्वाचन आयोगले निर्वाचनको प्रशिक्षण प्रशिकलाई तयारीका लागि नमूना मतदान गरिएको उनले जानकारी दिए । जिल्लामा अहिले चार लाख आठ हजार तीन ४२ मतदाता रहेका छन् । जसमध्ये महिला मतदाताको सङ्ख्या पुरुषको भन्दा बढी रहेको छ ।

दुई लाख नौ हजार तीन सय नौ मतदाता महिला रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीले जानकारी दिए । कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थलमा चार सय ६० केन्द्रबाट मतदान हुँदैछ ।

क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदानस्थल र एक सय ५९ केन्द्रबाट मतदान हुँदैछ । क्षेत्र नम्बर २ मा रहेका एक लाख २४ हजार दुई सय १४ मतदाताले ४३ मतदानस्थलमा रहेका १३८ केन्द्रबाट मतदान गर्ने छन् । यस्तै क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थलका एक सय ६३ मतदान केन्द्रबाट एक लाख ४४ हजार दुई सय ८३ मतदाताले मतदान गर्ने कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *