पोखरामा प्लास्टिकबाट बनेका माला बेच्न नपाइने, १ लाख जरिवाना हुने

पोखरा । पोखरा महानगरपालिकाले प्लास्टिकबाट बनेका गुच्छा र माला बेच्न प्रतिबन्ध लगाएको छ । यसको उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको हो । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरेर प्लास्टिकबाट बनेका मालाजन्य सामग्री नबेच्न निर्देशन दिएको छ । आइतबार २० वटा पसलहरूमा अनुगमन गरेर त्यस्ता सामान नबेच्न आग्रह गरिएको हो ।

प्लास्टिकको फूलमाला प्रयोग बारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराइएको गुरुङले बताइन् ।

‘प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सूचना प्रकाशन गरेकाले यसको कार्यान्वयन गर्नुपर्छ भनेर अनुगमन गरेका हौँ, उनले भनिन्, ‘विदेशबाट आयात हुने प्लास्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर परेको छ । सुरुमा व्यवसायीले गुनासो गरे पनि पछि आफैले हटाएर सहयोग गर्नुभयो ।’

चाडपर्वमा प्लास्टिकजन्य फूलहरूको व्यापार बढी हुने भएकाले अनुगमन गरिएको उनको भनाई छ ।

‘अहिले सचेत मात्रै गरेका छौँ । फेरी विक्री वितरण गरिएको पाइए १ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ,’ उनले अघि भनिन् । अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिवप्रसाद गौतम, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, पत्रकार लगायतको उपस्थिति थियो । चाडबाडमा महानगरले नियमित अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *