गण्डकीमा मुख्यमन्त्री रेस : अधिकारी र पाण्डे प्रमुख दावेदार

पोखरा । आसन्न मंसिर ४ को चुनावका लागि अहिले उम्मेद्वारहरु मतदाताको घरदैलोमा छन् । मंसिर १७ अघि निर्वाचन प्रचारप्रसार गर्न नपाइने भएकोले केही चाहिँ आन्तरिक ब्यवस्थापनतिर लागेका छन् । चुनाव हुन १ महिना बाँकी छँदै अहिले गण्डकीमा मुख्यमन्त्री को बन्ने भन्ने चर्चा सुरु भएको छ ।

२०७४ सालको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले अहिले पनि पूरानो विरासत जोगाउने प्रयासमा छ । २७ सीट जितेको एमालेले अहिले सोही हाराहारीमा चुनाव जित्ने दावी गरेको छ । यसअघि १५ सीट जितेको कांग्रेस अहिले नतिजा दोब्बर बनाउने दाउमा छ । गठबन्धन कायम रहे कांग्रेस र माओवादीको गठजोडबाट सरकार बन्ने सम्भावना प्रवल छ ।

तर धेरैको आँकलन चुनावपछिको समिकरण फेरिनेतर्फ छ । यद्यपी एमाले, कांग्रेस, माओवादी र जनमोर्चाका सांसद बाहेक गण्डकी प्रदेशसभामा अरु पार्टीले सीट जित्ने सम्भावना निकै कम छ । मनाङबाट राजीव गुरुङ उर्फ दीपक मनाङे स्वतन्त्र रुपमा सर्वसम्मत निर्वाचित भैसकेका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा र दलहरुको प्राथमिकताका आधारमा मुख्यमन्त्रीको आँकलन गर्न खासै सकस छैन । एमालेले बहुमत पाए वा संसदमा अन्य दलसँग मिलेर बहुमत पु¥याउन सके कास्कीले मुख्यमन्त्री पाउने पक्का जस्तै छ । यसअघि नै केन्द्रीय प्रभावशाली मन्त्रालय सम्हालिसकेका निवर्तमान प्रतिनिधिसभा सांसद खगराज अधिकारी एमालेबाट मुख्यमन्त्रीको पहिलो नम्बरमा छन् । उनी कास्की १ क बाट उम्मेद्वार बनेका हुन् । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट उम्मेद्वार बनेका जमिन्द्रमान घलेलाई पनि मुख्यमन्त्रीका रुपमा अथ्र्याएका छन् । एमाले श्रोतका अनुसार अधिकारी नै मुख्यमन्त्रीका निर्विकल्प दावेदार हुन् । तर यहाँ एमाले एक्लैले बहुमत पाउने सम्भावना निकै कम छ ।

एमालेमा अधिकारीजस्तै कांग्रेसको नेतृत्वमा सरकार बने मुख्यमन्त्री बन्ने छन्, गोरखाबाट उम्मेद्वारी दिएका सुरेन्द्र पाण्डे । २ वर्षसम्म राष्ट्रियसभा सांसद भैसकेका पाण्डे मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा झरेको बताइन्छ । उनी गोरखा २ ख बाट उम्मेद्वार छन् । कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा पनि मुख्यमन्त्रीका लागि समानुपातिक सूचीबाट सांसद बन्ने दाउमा छन् । उनी खस आर्य पुरुष कोटाको पहिलो नम्बरमा बन्द सूचीमा परेका छन् । तर पार्टीभित्र गुट हावी भएकोले सभापति शेरबहादुर देउवा पक्षीय सांसदहरु बढी हुने सम्भावना देखिन्छ । त्यसो हुँदा संसदीय दलमा पाण्डे शर्मा भन्दा बलियो बन्न सक्छन् । यहाँ कांग्रेसभित्र मुख्यमन्त्री बन्न निकै चर्को प्रतिश्पर्धा हुने देखिन्छ । तनहुँका ध्रुव वाग्लेलाई पनि धेरैले मुख्यमन्त्रीका रुपमा हेरेका छन् ।

यसअघि तेश्रो शक्तिका रुपमा संसदमा रहेको नेकपा माओवादी केन्द्र पनि गठबन्धन कायम राखेर गण्डकीको नेतृत्व लिने दाउमा छ । गठबन्धन यही अवस्थामा हुँदा र माओवादीले गण्डकीको नेतृत्व गर्न पाउँदा सबैभन्दा प्रमुख दावेदार हुन् हरिबहादुर चुमान । तनहुँ १ ख बाट उम्मेद्वारी दिएका उनी यसअघि पनि माओवादीको तर्फबाट नेतृत्व गरेर गृहमन्त्री बनिसकेका छन् । उनीसँग आन्तरिक मामिला मन्त्रालय सम्हालेको अनुभव भएको र पार्टीभित्र पनि ‘सिनियर’ भएका कारण उनले मुख्यमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने सम्भावना छ । तथापी स्याङजाबाट उम्मेद्वारी दिएकी अमृता थापा पनि मुख्यमन्त्रीको प्रमुख दावेदार हुन् । उनी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।

राष्ट्रिय जनमोर्चा र अन्य दलको यसपालि बलियो उपस्थिति नहुने पक्का छ । जनमोर्चाले यसअघिको चुनावमा २ सीट प्रत्यक्ष र १ सीट समानुपातिक जितेको थियो । अहिले जनमोर्चाले प्रत्यक्ष चुनावमा प्रतिश्पर्धा गरेको छैन । राप्रपाको संगठन मजबुत भएका कारण समानुपातिक सूचीबाट सांसद बन्न सक्ने सम्भावना कायम छ । गण्डकीमा करिव ५० हजार मत पाएपछि समानुपातिक तर्फ १ सांसद बन्ने सम्भावना छ । आगामी निर्वाचन पछि गण्डकीमा मन्त्रालय संख्या घट्ने सम्भावना अधिक छ । केही नेताहरुले मन्त्रालय घटाउने चुनावी एजेण्डा नै बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *