विवेकशील साझाको चुनावी प्रतिबद्धता: शिक्षा, स्वास्थ्य निःशूल्क, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

काठमाडौं। विवेकशील साझा पार्टीले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।

पार्टीले सार्वजनिक गरेको १३ बुँदे प्रतिबद्धता पत्रमा पर्यटन विश्वविद्यालय स्थापनादेखि राइट टू रिकल र राइट टू रिजेक्टसम्म व्यवस्था लागू गर्ने भनिएको छ ।

पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशूल्क शिक्षा प्रदान गर्ने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा, स्वायत्त र अधिकार सम्पन्न  सम्पत्ति शुद्धीकरण विभाग बनाइने छ ।  यस्तै असंलग्न परराष्ट्र नीति र सन्तुलित विदेश नीतिको पक्षमा रहने समेत घोषणा पत्रमा बताइएको छ ।

यस्ता छन् विवेकशील साझा पार्टीका चुनावी प्रतिबद्धता

१. शिक्षा : जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशूल्क शिक्षा प्रदान गर्ने ।

दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बुढानिलकण्ठ शैलीमा पढाउने व्यवस्था गर्नेछौँ । उक्त विद्यालयमा न्यून आय भएका, सीमान्तकृत र महिलालाई अध्ययन कालागि विशेष व्यवस्था गर्नेछौँ ।

विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्, स्थानीय सरकार, सेना, प्रहरी, सरकारी कर्मचारी लगायतको एक संयन्त्र बनाई उच्च माध्यमिक वा स्नातक अध्ययन गर्ने विद्यार्थीले कम्तीमा एक वर्ष आफ्नो अध्ययनको क्षेत्रमा अनिवार्य ईन्टर्न वा सेवा गर्नुपर्ने व्यवस्था गर्नेछौँ ।

नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्नेछौँ ।

त्रिभुवन विश्वविद्यालयमा खेलकुद विभाग स्थापना गर्नेछौँ ।

निजी विद्यालयहरूले दुर्गमका सरकारी विद्यालयको स्तरोन्नति र बाल विकासमा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नेछौँ ।
 पुस्तान्तरणलाई मजबुत बनाउन ज्येष्ठ नागरिकहरूलाई नजिकैका विद्यालयमा सीप, कला, संस्कृति लगायतका विषयमा अध्यापन गराउने व्यवस्था गर्नेछौँ ।

२. स्वास्थ्य : गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा ।

देशभर स्वास्थ्य बिमा अनिवार्य लागु गर्नेछौँ ।

हरेक जिल्लामा जनरल फिजिसियन (जीपी)को दरबन्दी अनिवार्य गर्नेछौँ ।

राज्यको लगानीमा स्वदेश वा विदेशमा अध्ययन गरेका कर्मचारी वा विशेषज्ञले अनिवार्य स्वदेशमा रहेर सेवा गर्नु पर्ने र यदि नगरेमा कानुनी कारबाही गर्ने व्यवस्थालाई परिमार्जन सहित प्रभावकारीरुपमा लागु गर्नेछौँ ।

निजी अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत दुर्गमका स्वास्थ्य संस्थालाई अनिवार्य सहयोग गर्नुपर्ने व्यवस्था गर्नेछौँ ।

३. आत्मनिर्भर तथा दिगो अर्थतन्त्रका चार खम्बा स् प्रविधि, जलविद्युत्, कृषि र पर्यटन (THAT)

फलफूल, तरकारी, खाद्यान्न र पशुमा आत्मनिर्भर, जडीबुटीरचियामा निर्यातमूखी कृषि व्यवस्था लागू गर्दै आधुनिक कृषि प्रणालीका माध्यमबाट रोजगारी बढाउन कदम चाल्ने छौँ ।

 हाल बन्द रहेका उद्योगहरूमा कारागारहरू स्थानान्तरण गरी बन्दीहरूलाई सहज बासको व्यवस्था गर्ने, कैदी बन्दीले सोही उद्योगमा काम गरी देशको उत्पादकत्व बढाउने नीति बनाउने छौँ ।

 सहकारीको मूल्य मान्यतालाई संवर्द्धन गर्दै निजी क्षेत्रसँग गुणस्तर, मूल्य र आपूर्तिमा स्वस्थ प्रतिस्पर्धात्मक अभ्यासबाट आम नागरिकलाई सेवा दिने व्यवस्था गर्नेर्छौँ ।

 विद्युत र ग्रिन हाईड्रोजन स्वदेशमा खपत तथा निर्यात गर्ने नीति तर्जुमा गर्नेछौँ ।

 कार्बन उत्सर्जन गर्ने मुलुकबाट अनिवार्य क्षतिपूर्ति पाउने व्यवस्थालाई बलियो बनाउने छौँ ।

 सार्वजनिक यातायातलाई सहकारी संस्थाहरूको समेत सहभागितामा सार्वजनिक निजी साझेदारी नीति अन्तर्गत सञ्चालन गर्ने व्यवस्था गर्नेछौँ । विद्युतीय यातायातका लगानीकर्तालाई विशेष सुविधा सहितका व्यवस्था गर्नेछौँ ।

४. भ्रष्टाचार नियन्त्रण र सुशासन

भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धि राज्य सञ्चालनको पहिलो प्राथमिकता हुनेछ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लागु गर्नेछौँ ।

उच्च राजनीतिक र प्रशासनिक पदमा बहाल रहेका सबैको सम्पत्ति जाँचबुझ गरी अवैध सम्पत्ति सरकारीकरण गरी दोषीलाई कारबाही गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्नेछौँ ।

सम्पत्ति शुद्धीकरण विभागलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनेछौँ ।

५.  न्यायालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत राज्यका विभिन्न अंग तथा निकायमा भइरहेको राजनीतिक भागबन्डाको अन्त्य गर्दै योग्यता, क्षमता र ईमान्दारिताको आधारमा खुल्ला प्रतिस्पर्धाबाट पदाधिकारीको नियुक्ति गर्ने व्यवस्था गर्नेछौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन आवश्यक पुनर्संरचना गर्नेछौँ ।

६. नोट चल्ने भोट नचल्ने व्यवस्थाको अन्त्य गर्दै विदेशमा बस्ने नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नेछौँ ।
७. सरकारी वेतनधारीहरूको “दलीय” पेसागत संगठन खारेज गर्नेछौँ ।

८. ‘राईट टु रीकल’ र ‘राईट टु रीजेक्ट’को व्यवस्था सुनिश्चित गर्नेछौँ ।

९. अनावश्यक सार्वजनिक खर्च कटौती गर्न राजनैतिक भर्तिकेन्दमा सीमित सरकारी निकायलाई खारेज गर्नेछौँ ।

१०. संवैधानिक आयोगहरूमा नियुक्तिका लागि तोकिएको ४५ वर्षे उमेर हद घटाएर युवामैत्री बनाउने छौँ ।

११. न्यून आय भएका नागरिकलाई परिचय पत्र प्रदान गरी आवास, खाद्यान्न र सार्वजनिक यातायातमा विशेष व्यवस्था सुनिश्चित गर्नेछौँ ।

१२. असंलग्न परराष्ट्र नीति र सन्तुलित विदेश नीति स्

दुई छिमेकी मुलुक भारत र चीनसँग समनीकटताको सम्बन्ध राखी संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण विदेश नीति अवलम्बन गर्दै उनीहरूको तीव्र आर्थिक विकासबाट अधिकतम लाभ लिने नीति लिनेछौँ ।

१३. वातावरण तथा सम्पदा संरक्षण :

वातावरण तथा सम्पदा संरक्षणमा दिगो, सन्तुलित र वातावरणमैत्री विकासको मौलिक मोडल तयार गर्नेछौँ ।

विकासका नाममा ध्वंशात्मक तवरले रमणीय डाँडाकाँडा भत्काउने, पानीका मुहान सुकाउने, नदीनाला दूषित बनाउने, वन जंगल ध्वस्त पार्ने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्यमा रोक लगाउने छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *