च्याम्पियन्स लिग : पिएसजी नकआउट चरणमा, युभेन्टस बाहिरियो

काठमाडौं । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदानमा मक्कबी हाइफामाथि ७-२ को फराकिलो जित दर्ता गर्दै पिएसजीले नकआउट चरणमा स्थान पक्का गरेको हो ।

पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले २ गोल र २ असिस्ट प्रदान गरे । एमबाप्पेले २ गोल गर्दा कार्लोस सोलेर र नेयमारको नाममा १-१ गोल रह्यो । एक गोल भने आत्मघाती रहेको थियो । पाहुना टोलीका लागि अब्दुलाए सेकले दुइ गोल फर्काए ।

यस नतिजासँगै समूह एचमा पिएसजी शीर्षस्थानमा कायम छ । पिएसजी र बेन्फिका दुवैको ५ खेलमा ११ अंक छ । समूह विजेताको टुंगो अन्तिम खेलपछि लाग्नेछ । पुछारको दुई स्थानमा रहेका युभेन्टस र हाइफाको ३-३ अंक रहेको छ ।

यता इटालियन क्लब युभेन्टस बेन्फिकासँग हार बेहोरेपछि एक खेल बाँकी रहँदै नकआउट चरणमा नपुग्ने पक्का भएको हो । बेन्फिकाले भने अन्तिम १६ म स्थान पक्का गरेको छ ।

बेन्फिकाको घरेलु मैदानमा एन्टोनियो सिल्भाले सुरुवाती अग्रता दिलाएका थिए । उनले एन्जो फर्नान्डेजको क्रसलाई हेडरमार्फत गोलको दिशा दिए । तर २१ औं मिनेटमा युभेन्टसले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । मोइस किनले भ्लाहोभिचको प्रहार गोलरक्षकले बचाएपछि गोललाइन अघिबाट सहजै गोल गरे ।

तर २८ औं मिनेटमा बेन्फिकाले पेनाल्टी प्राप्त गर्यो । जोआओ मारियोले उक्त पेनाल्टीमा गोल गर्दै बेन्फिकलाई पुन: अघि बढाए । ३५ औं मिनेटमा राफा सिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । उनले मारियोको क्रसमा ६ यार्ड बक्स भित्रबाट सुन्दर ब्याक फ्लिकमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको ५० औं मिनेटमा राफाले व्यक्तिगत दोस्रो गोल गरे । उनले ग्रिमाल्डोको पासलाई पेनाल्टी क्षेत्रभित्र लिँदै गोलरक्षकलाई चिप गर्न सफल भए । ७७ औं मिनेटमा युभेन्टसका अर्काडिउस्ज मिलिकले गोल गरे । उनले स्यामुएल इलिंग जुनिअरको क्रसलाई गोलमा परिणत गरे ।

त्यसको २ मिनेटपछि नै वेस्टन मकेनीले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्दा युभेन्टस खेलमा फर्कने सम्भावना बढेको थियो । तर त्यसपछि पाहुना टोलीले गोल गर्न नसक्दा यसपटक समूह चरणबाट बाहिरिनु पर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *