मोरङ-६ : चेली संरक्षणको रणनीतिमा मतदाता, ज्वाइँलाई सकस
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेबाट लालबाबु पण्डित उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट डा शेखर कोइराला प्रतिनिधि सभाका लागि चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा दुई चिनिएका अनुहार चुनावी मैदानमा लागेको भएपनि प्रदेश सभामा भने केही बाहेक सबै नयाँ अनुहार छ । क्षेत्र नम्बर ६ (१)मा नेकपा एमालेबाट रिता न्यौपाने चुनावी मैदानमा छिन् । उनी स्थानीयसँग नजिक रहेर काम गरेकी महिला उम्मेदवार हुन् भनेँ प्रचण्डका ज्वाइँ जीवन आचार्य उनको प्रतिस्पर्धामा छन् ।
सत्ता गठबन्धनबाट प्रचण्डका ज्वाइँ आचार्य चुनावी मैदानमा उत्रिएका हुन् । उनी यस अघिको निर्वाचनमा भारी मतका साथ पराजित भएका थिए । हिजो उम्मेदवार हुँदा नयाँ अनुहार भएपनि यो बिचको ५ वर्षमा आचार्यले कुनैपनि गतिविधि नदेखिएको आरोप लाग्दै आएको छ । शक्तिमा रहेका कारण ससुरा प्रचण्डको बलमा उनी उम्मेदवार भएको भनिन्छ । प्रचण्डले आफ्ना परिवार भित्रका सदस्यलाई मात्र संरक्षण गर्ने गरेको भनेर टीकाटिप्पणी हुँदै आएको अवस्थामा आचार्यलाई पनि त्यही दर्जामा मतदाताले राख्ने गरेका छन् । उनलाई यो आरोप चिर्न निक्कै सकस देखिएको छ। आचार्य निर्वाचित भएर गएपनि क्षेत्रमा नआउने डर स्थानीयमा देखिन्छ ।
कतिपय भने आचार्य निर्वाचित भएको अवस्थामा अन्य पार्टीमा लागेका युवा नेताको भविष्य नै उनको कारण ओझेलमा पर्ने आकलन गर्न थालेका छन् । नेपाली कांग्रेस निकट एक नेताले भने ‘जीवन जी अहिले नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न आउनु भएको छ, भोलि हामीले हाम्रो ठाउँ कहाँ खोज्न जानु रु’ नेकपा माओवादी केन्द्रको कार्यकर्ता कमजोर रहेको भनिने यो क्षेत्रमा नेपाली कांग्रेसको बलमा चुनाव जित्ने दाउमा आचार्य देखिएका छन् । बेला बेला आचार्यले महिलालाई लक्षित गरी दिएको अभिव्यक्तिले महिलाहरू भने आचार्यसँग चिढिएका छन् ।
शिक्षा क्षेत्रमा काम गरेकी रिता न्यौपाने निरन्तर गाउँघरमा नै रहेकी महिला उम्मेदवार हुन् । निजी विद्यालयको सञ्चालन तथा विभिन्न व्यवसायमा संलग्न रहेकी न्यौपाने त्यस क्षेत्रमा चिनिएकी महिला हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढिगंगा गाउँपालिकाको उपाध्यक्षमा पराजय भोगेपछि उनी निरन्तर क्षेत्रमै रहेकी छिन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार भएपनि प्रदेश निर्वाचन क्षेत्रको लागि न्यौपाने नयाँ अनुहार हो । जेसिज, लायन्स, प्याब्सन, खेलकुद क्षेत्रको नेतृत्वमा बसेर काम गरेकोले उनको प्रत्यक्ष भेटघाट युवा र बुद्धिजीवी क्षेत्रसँग देखिन्छ ।
उनी आफू निर्वाचित हुनेमा विश्वस्त छिन् । न्यौपाने अविवाहित भएको कारण यो क्षेत्रमा ज्वाइँलाई भन्दा आफ्नै चेली जिताउनु पर्छ भन्ने देखिएको नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा बताउँछन् । क्षेत्र नम्बर ६ (१)मा ज्वाइँ आचार्य र चेली न्यौपानेको चर्चाले चुनावी सरगर्मी बढेको छ । दुबैलाई जित्नको लागि कांग्रेसको भोट अनिवार्य देखिन्छ ।
त्यस्तै क्षेत्र नम्बर ६ (२) पनि प्रदेश निर्वाचन क्षेत्रमा चर्चाको क्षेत्र हो । यस क्षेत्रमा नेपाली कांग्रेसका केदार कार्की र नेकपा एमालेका युवा नेता परशुराम बस्नेतको बिचमा कडा टक्कर हुने आकलन गरिएको छ। कार्की २०७४ सालको निर्वाचनबाट निर्वाचित भएर मन्त्रीसम्म बन्ने मौका पाएका व्यक्ति हुन् । उनी यो क्षेत्रमा काम भन्दा बढी विवादमा परेपछि उनलाई आफ्नै नेता कार्यकर्ताले काम नगरेको आरोप लगाउँदै आएका छन् ।
कार्की आफ्नै कार्यकर्ताबाट असुरक्षित रहेको भन्ने गरिएको छ, कांग्रेसबाट नै गोपाल रेग्मीले बागी उम्मेदवारी दिएको कारण नेपाली कांग्रेसको भोट त्यता जाने आकलन मतदातामा छ । कार्की भने आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताउँछन् । कांग्रेसका बागी रेग्मी यस अघि ४ पटक विराटनगर उपमहानगरपालिकाको कार्यकारी अधिकृतको भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन् । उनलाई रुचाउने एउटा समूह यो क्षेत्रमा छ ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार परशुराम बस्नेत यो क्षेत्रको लागि स्थानीय भएपनि निर्वाचनलागि पहिलो अनुभव र नयाँ अनुहार हो । निर्वाचनमा नयाँ र सामाजिक क्षेत्रमा अगुवाको कारण पनि सहज हुने भएपनि सत्ता गठबन्धन एकातिर भएकोले निक्कै मेहनत गर्नु पर्ने आकलन गरिएको छ । शिक्षा, सामाजिक क्षेत्र, विपद् र अप्ठेरोको बेला बस्नेतलाई सम्झने गरेको स्थानीय बताउँछन् । कार्की यस अघि निर्वाचित भइसकेको र बस्नेत नयाँ भएको कारण नयाँ योजना सहित काम गर्न सक्छ भन्ने स्थानीयको बुझाई देखिन्छ ।
नेकपा एमालेका उम्मेदवार परशुराम बस्नेतले यस क्षेत्रका जनतासँगै आफ्नो भविष्य पनि जोडिएको बताउने गरेका छन् । आफू पनि यसै क्षेत्रको बासिन्दा रहेको भन्दै उनले जनताको समस्यामा दुःखसुखको साथीको रूपमा रहेको बताए । यस क्षेत्रको विकास र यहाँका समस्या समाधानका निम्ति आफू दिनरात जनताकै माझमा रहने पनि उनको भनाई छ । मोरङ क्षेत्र नम्बर ६ ९१० मा ७८ हजार ९६४ र क्षेत्र ६९२० मा ४७ हजार ७९७ गरी क्षेत्र नम्बर ६ मा कुल १ लाख २६हजार ७६१ मतदाता रहेका छन् ।