सडक बिनाको विकास सम्भव छैन : पूर्वमन्त्री बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सडक बिनाको विकास सम्भव नहुने बताएका छन् । गाउँ क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सडक विस्तार गर्न आवश्यक रहेको उनले बताए । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको संयुक्त निर्वाचन परिचालन समितिको भेलामा पूर्वमन्त्री बस्नेतले विकासका काममा सहरभन्दा गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी दिनमा जिल्लाका हरेक गाउँमा सडक सञ्जालको निर्माण गर्न लागिपर्ने बताए । विगतमा सिन्धुपाल्चोकमा आफूले आपतविपद्का समयमा गरेको सहयोगको स्मरण गर्दै पूर्वमन्त्री बस्नेतले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, “आसन्न निर्वाचन नजिकिएसँगै हाल सिन्धुको माहोल गठबन्धनमय बनेको छ । विगतमा क्षेत्र नं २ मा निर्वाचित सांसदले गरेको कामभन्दा अहिले पनि पनि मैले धेरै र महत्वपूर्ण काम गरेको छु । निर्वाचित भएपश्चात सिन्धुको विकासका काममा तीव्रता दिनेछु ।”

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज माधव सापकोटाले देशमा आर्थिक समृद्धि गर्नुपर्ने बताए। उनले भने, “गठबन्धनले पाँच वर्ष नेतृत्व गर्दा विकासले मुहार फेर्नेछ । योजनाबद्ध तरिकाले दीगो विकासतर्फ हामीले आगामी दिनमा त्यसतर्फ ध्यान दिनेछौँ ।”

बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुुलालले मन्त्री हुँदा धेरै विकासका काम गरेको जानकारी गराएका थिए । उनले अधुरा काम बाँकी रहेको भन्दै पुनः एकपटक नेतृत्वमा पुग्न इच्छा भएको बताए । पूर्वमन्त्री दुलालले ठूला कामसँगै जनताका मसिना काममा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्ने भन्दै परिणाममुखी जनसेवामा आफू समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *