देशको विकास र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक : नेता आचार्य
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्यले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।
रसुवागढी समाजद्वारा आज काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट रसुवाको प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका आचार्यले देशको विकास र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन निर्माण भएको बताए ।
नेता आचार्यले रसुवाको समृद्धि आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । “समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको अभियानलाई सफल बनाउन गठबन्धनको उम्मेदवारको जीत आवश्यक छ”, उनले भने ।
कृषि, जलविद्युत्, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उनको भनाइ छ । उनले भौगोलिकरूपमा पिछडिएको रसुवालाई सडक सञ्जालमार्फत जोड्न सके रसुवाको विकासले गति लिने बताए ।