भूमिगत तला खाली गर्न पोखराले चलायो डोजर
२०७९ कार्तिक १५ गते
पोखरा । पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत तला खाली गर्न थालेको छ । पटक पटक सूचना निकाल्दा समेत अटेर गरेपछि महानगरपालिका आफै डोजर लिएर निस्किएको हो । भूमिगत पार्किङका लागि नगरपालिकाबाट कर छुटको सुविधा लिएर व्यावसायीक प्रयोजनमा प्रयोग गरेपछि महानगरले भूमिगत तला तत्कालै हटाउन सूचना जारी गरेको थियो ।
केहीले महानगरको सूचनापछि खाली गरे पनि केहीले अटेर गरेर व्यवसाय चलाउँदै आएका महानगरले जनाएको छ । मंगलबार पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्र पुल स्थित गरिमा विकास बैंक रहेको भवन लगायत स्थानहरूमा महानगरपालिकाले डोजर चलाएको हो । सेलवेज टावरको बेसमेन्टमा सञ्चालन भइरहेको बिगबजार भने स्थानान्तरणको क्रममा रहेकाले ७२ घण्टाको अल्टिमेटम दिइएको छ ।
महेन्द्र पुल स्थित सिता भवन र मोबाइल टावरको बेसमेन्ट भने खाली भैसकेको छ । पोखराको लेकसाइड क्षेत्रका व्यवसायीहरूले आफ्ना बेसमेन्टहरुलाई पार्किङ कै रूपमा प्रयोग गर्न थालेका मेयर धनराज आचार्यले बताए । पोखरा महानगरपालिका क्षेत्र भित्र २ सय ५० भन्दा बढी घरले अन्डरग्राउन्ड पार्किङ सहितका भवनहरू निर्माण गरेका छन् । ती पार्किङलाई पार्किङ कै रूपमा प्रयोग गरिए सडकमा हुने अव्यवस्थित पार्किङ र ट्राफिक जामको समस्यामा कमी आउने आचार्यले बताए ।
२०७९ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित