भोट माग्दामाग्दै मानुषी अष्टलक्ष्मी शाक्यको घरमा पुगेपछि….
काठमाडौं । सत्तारुढ गठबन्धनबाट काठमाडौँ ७ मा उम्मेदवार बनेकी मानुषी यमी भोट माग्नेक्रममा नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छन् । शाक्य सोही क्षेत्रकी मतदाता हुन् ।
शाक्यलाई एमालेले सोही क्षेत्रमा उम्मेदवार बनाउन खोजेको थियो । शाक्य आफैँले नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै उमेदवार बन्न अस्वीकार गरिन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी सुपुत्री मानुषी यमी भट्टराई काठमाडौँ ७ मा घरदैलो कार्यक्रममा व्यस्त भएकी छन् । घरदैलो कार्यक्रममा भोट माग्नेक्रममा मानुषी शाक्यको घरमा पुगेकी हुन् । मानुषी र शाक्यबीच समसामयिक विषयमा केहीबेर कुराकानी भएको छ । मानुषीले अष्टलक्ष्मीलाई आफ्नो राजनीतिक जीवनको प्रेरणा स्रोत मानिन् । मानुषीसँग अष्टलक्ष्मीले हामी नमिली सुखै नभएको बताएकी थिइन् ।
अष्टलक्ष्मी र उनका श्रीमान् एमाले नेता अमृतकुमार बोहराले मानुषीलाई शुभकामना दिएका थिए । अष्टलक्ष्मीले गाली गलौजबाट माथि उठेर देश बनाउनको लागि नमिली सुखै नभएको बताएकी थिइन् । गणतन्त्र र समाजवाद सबैको साझा भएकाले मिलेर जानुपर्ने शाक्यको भनाइ थियो । भेटको क्रममा मानुषीले भनिन्, ‘सुशासन र समृद्धिको बाटोमा एक ढिक्का भएर एउटै मिसन बनाएर जानुपर्ने बेला आएको छ, यसको लागि हामी पनि आतुर छौँ ।’