मोरङ-६ : शेखर भर्सेस लालबाबु, कसले मार्ला बाजी ?
काठमाडाैँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ राष्ट्रिय चासोको विषय बनेको छ । जहाँ कांग्रेस नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच चुनावी ‘रिम्याच’ हुँदैछ ।
यी दुई नेता २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धी थिए र लालबाबुले शेखरलाई पराजित गरे । रिम्याचको यो ‘रेस’ मा शेखर पाँच वर्षअघिको हारको बदला लिँदै संसदमा पुग्ने प्रयासमा हुनेछन् भने लालबाबु पुरानो सफलता कायम राख्दै रेकर्ड बनाउने लक्ष्यमा छन् ।
मोरङ-६ मा कुल मतदाता एक लाख २६ हजार सात सय ६१ रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसअन्तर्गत बूढीगङ्गा गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाको वडा नं ४,५,६,७,९,११ र १२, सुन्दरहरैचा नगरपालिकाको वडा नं २,३,४,५,६ र ७ नं वडा रहेका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बूढीगङ्गा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितनारायण थापा मगरले आठ हजार दुई सय ९९ र उपप्रमुखमा सोही पार्टीका अमृता कुमारी गच्छदारले नौ हजार ५० मत ल्याएर विजयी भएको थियो भने नेकपा एमालेका बलभद्र सदरदार थारुले सात हजार आठ सय आठ र उपाध्यक्षमा तुलसीकुमार कुँवरले छ हजार दुई सय २३ मत ल्याई पराजित भएका थिए ।
यस्तै विराटनगर महानगरपालिका अन्तर्गत वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेका जितन थापाले दुई हजार ९२, वडा नं ५ मा नेकांका सन्तोष न्यौपानेले एक हजार नौ सय ९४, वडा नं ६ मा नेकांका हरिषचन्द्र सहनीले दुई हजार दुई सय ९५, वडा नं ७ मा नेकांका मधुबाबु तिवारीले एक हजार ३१, वडा नं ९ मा नेकांका विश्वनाथ भगतले एक हजार तीन सय ४२, वडा नं ११ मा नेकपा एमालेका तीर्थेन्द्र न्यौपानेले एक हजार पाँच सय ५२ र वडा नं १२ मा जनता समाजवादी पार्टी नेपालका हीरालाल कामतले एक हजार तीन सय ७४ मत ल्याइ विजयी भएका थिए ।
यसैगरी सुन्दरहरैचा नगरपालिका–२ मा नेकांका विवश प्रधानले एक हजार पाँच सय ७०, वडा नं ३ मा नेकपा एमालेका विदुरप्रसाद ढुङ्गानाले एक हजार आठ सय ९१, वडा नं ४ मा नेकांका कैलाश बस्नेतले एक हजार सात सय ६०, वडा नं ५ मा नेकपा एमालेका गणेश चौधरीले दुई हजार तीन सय ३१, वडा नं ६ मा नेकांका सन्तोष लिङ्देनले एक हजार आठ सय २६ र वडा नं ७ मा स्वतन्त्र भुवनसिंह मगरले एक हजार चार सय २६ मत ल्याइए विजयी भएका थिए ।
यसरी हेर्दा वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले नै सबैभन्दा बढी मत पाएका छन् । कांग्रेसका उम्मेदवारले कुल २७ हजार ८६ र एमालेकाले २४ हजार ५५६ मत पाएका थिए । एकीकृत माओवादीकाले ४ हजार ९९६, जनता समाजवादी पार्टी (जसपा)काले ३ हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका)ले ३ हजार ११५, एकीकृत समाजवादीकाले २ हजार ३५५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वडाध्यक्ष उम्मेदवारले ८९५ मत पाएका थिए ।
स्थानीय चुनावसम्म सत्ता गठबन्धनमा रहेको जसपा अहिले एमाले नेतृत्वको गठबन्धनमा पुगेको छ । लोसपा सत्ता गठबन्धनमा छ । यसरी गठबन्धनमा भएको परिवर्तनले पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धन गणितीय रूपमा बलियै अवस्थामा हुने अनुमान छ । लोसपासहितको मतअनुसार यो क्षेत्रमा सत्ता गठबन्धनसँग ३५ हजार ३३२ मत छ । एमाले नेतृत्वको गठबन्धनमा राप्रपाको मतसहित ३१ हजार ६१० मत देखिन्छ । मोरङमा एमाले र राप्रपाका आआफ्ना उम्मेदवार छन् ।
प्रतिनिधिसभा निर्वाचित २०७४ मा यस क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितले ३३ हजार ९४१ मत ल्याइ विजयी भएका थिए भने नेकांका डा शेखर कोइरालाले ३३ हजार २६६ मत ल्याइ पराजित भएका थिए ।