जनमत पार्टीबाट विराटनगरकाे उपमेयरकी उम्मेदवार एमालेमा
विराटनगर । गत स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा उपमेयरको उम्मेदवार रहेकी अनुदेवी कामत शनिबार नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।
जनमत पार्टी परित्याग गर्दै उनी एमाले प्रवेश गरेकी हुन् । एमालेले विराटनगर महानगरपालिका–१२ मलंगवामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो । कामतको नेतृत्वमा नेपाली कांग्रेस, जनमत र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेर १ सय १४ जना एमालेमा प्रवेश गरेको जनाइएको छ ।
विभिन्न पार्टी परित्याग गर्नेहरुलाई एमाले स्थायी कमिटी सदस्य एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डित, प्रदेशसभा ‘ख’का उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण) लगायतले एमाले प्रवेश गराएका हुन् । नेता पण्डितले एमालेको नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने बताए ।
‘गठबन्धनले मुलुकलाई अहित हुने काम गरिरहेको छ । मुलुकको विकास निर्माण अहिले ठप्प छ,’ उनले भने, ‘विकासका लागि मुलुकको नेतृत्व एमालेले गर्नुपर्छ । एमालेबाहेक अरु दलबाट विकास र समृद्धिको कल्पनासमेत गर्न सकिँदैन ।’ विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै पण्डितले सत्ता गठबन्धन विकास विरोधी भएको टिप्पणी पनि गरे ।
प्रदेशसभा सदस्यका उम्मेदवार बस्नेतले विकासमा सधैँ पछाडि परिरहेको विराटनगरको मलंगवालाई समृद्ध बनाउने जिम्मा एमालेले लिने बताए । साथै अरु पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने सबैको राजनीतिक भविष्य एमालेले सुनिश्चित गर्ने उनको भनाइ छ ।
एमालेको सरकार हुँदा विकासका धेरै कामहरु भएको बताउँदै बस्नेतले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा एमालेको नेतृत्वमा मात्रै पूरा हुने उल्लेख गरे ।