यस्तो छ डा शेखर कोइरालाको संकल्प प्रस्ताव
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले आफ्नो संकल्प प्रस्ताव सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको संकल्प प्रस्तावको पहिलो बुँदामा संविधानको रक्षा र राजनीतिक स्थिरताको मुद्दा उठाएका छन् । उनले सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि आफ्नो संकल्प भएको बताएका छन् ।
आफ्नो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएकोले अब विविधता बीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सद्भावलाई संरक्षण गर्दै यस क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउने संकल्प पत्रमा भनिएको छ । ‘यस क्षेत्रको आर्थिक असमानता र गरिबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता छ, उनको संकल्पमा भनिएको छ, युवा बेरोजगारीको समस्या डरलाग्दो छ, यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन ।’
हाम्रा सम्मानित ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य उपचार सँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम ल्याउने कोइरालाले दाबी गरेका छन् । गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने तथा विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइने पनि भनेका छन् ।
विराटनगर चक्रपथको काम सम्पन्न गरी यथाशक्य छिटो सञ्चालनमा पनि उनको दाबी छ । ‘मोरङ क्षेत्र नं ६ को समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन मलाई तपाईँहरूको सहयोगको आवश्यकता छ, उनको संकल्प पत्रमा भनिएको छ, म समग्र नेपाली कांग्रेस भित्र पुस्तान्तरण र रूपान्तरणको लागि मात्र लडिरहेको छैन, मोरङको गौरवशाली: इतिहास र परम्परालाई समेत निरन्तरता दिने प्रयासमा छु ।’ कोइरालाको संकल्प प्रस्तावमा मतदाताको भरोसामाथि कुठाराघात नगर्ने भनेका छन् । ‘म तपाईँहरूको मतको अपमान हुन दिने छैन र शिर झुक्न दिने पनि छैन,कोइरालाले भनेका छन् ।
२०७४ सालको निर्वाचन पछि एकपटक पनि निर्वाचन क्षेत्रमा नपुगेको आरोप लागेको कोइरालाले आफ्नो संकल्प प्रस्तावबाट यो क्षेत्रको विकास गर्छु भन्नुलाई नागरिकले भने सकारात्मक लिएका छैनन् । कोइराला आफ्नो पार्टी भित्रबाट असुरक्षित रहेको कारण उनको जीत सुनिश्चित नभएको कार्यकर्ता भित्रैबाट कुरा उठ्दै आएको छ । उनको संकल्पलाई साकार पार्ने काममा कार्यकर्ताको भूमिका हुने भएको कारण कार्यकर्ता भित्र नै कोइरालालाई सुरक्षित नभएको भनिँदै आएको छ। यही क्षेत्रबाट नेकपा एमालेका लालबाबु पण्डित चुनावी मैदानमा छ ।
पण्डितलाई मतदाताले विकासे नेताको रूपमा चिन्ने गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ लाई अहिलेको यो अवस्थामा पुर्याउने काममा पण्डितको ठुलो भूमिका रहेको स्थानीय आशाराम सरदार बताउँछन् । यही क्षेत्रमा राप्रपाले पनि चुनावी अभियानलाई तीव्र बनाएको अवस्थामा कोइरालाको मत राप्रपामा पनि जानसक्ने आकलन गर्न थालिएको छ ।