सामा चकेवा : ‘माटोको मूर्तिसँग जोडिएको व्यवहार’
धनुषा । छठ पर्व सकिए लगतै मिथिलाञ्चलमा सुरु हुन्छ, सामा चकेवा । दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । दाजुभाइ र दिदीबहिनीका बीचको अगाध एवं स्नेही सम्बन्ध अभिव्यक्त गर्ने पर्वको रुपमा समेत सामा चकेवालाई लिने गरिन्छ । मिथिलाञ्चलमा मनाइने तीनवटा लोकोत्सव प्रत्येक साल उत्साह एवं उमंगसहित सामा चकेवालाई समेत मनाइन्छ । मिथिलाञ्चलमा भाईबहिनबीचको सम्बन्धलाई दर्शाउने मुख्यगरी तीनवटा पर्व मनाइने गरिन्छ । रक्षा बन्धनबाट सुरु भई भैयादूज, भ्रतृद्वितीया(भर–दूतीया) हुँदै सामा चकेवामा गएर समापन्न हुन्छ । कार्तिक शुक्ल पक्षको द्वितीयादेखि पूर्णिमासम्म यो पर्व मनाइन्छ ।
सुरु भएको दिनदेखि पूर्णिमाको दिन विशेष छोरीबेटीलाई बिदाइ गर्ने सरह नै यस पर्वमा बनाइएको माटो मूर्तिलाई बिदाइ गरिन्छ । द्वितीया तिथिका दिन दिदीबहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको शुभारम्भ गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिइन्छ ।
मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । जुन मैथिल समाजमा भइरहेको यथार्थ पारिवारिक कथालाई समेट्ने गर्दछ ।
मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा रहेको छ । जसमा दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गरिन्छ ।
‘सामा’ स्त्री पात्र र ‘चकेवा’ पुरुष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । यस पर्वमा माटोबाट सामा चकेवा, चुगला, ढोलिया, भरिया, सतभैया९सप्तऋषि०, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र बनाइन्छ ।
सांस्कृतिक विद् रामदयाल राकेशद्वारा लिखित पुस्तकमा यसमा ‘सतभैया’ (सप्तऋषि) को प्रतीकका रूपमा सम्मानित हुन्छ र बहिनी (दुईचार वटा विपरीत दिशामा मुख भएको जुन साम्ब र सामाको प्रतीक हुन्छ आदिको मृण्मय मूर्ति बनाइन्छ तर चुगलाको मूर्ति माटोबाट नबनाएर सिक्की भने मिथिलाञ्चलमा सहजरूपमा प्राप्त खरको जरातिर माटोले पूरै छोपेर बनाइएको झाडजस्तै (वृन्दावनको प्रतीक), यसको दुवैतिर लामो–लामो जुँगा भएको जुट (सनपाट) बाट माटोको मानवाकृति भएको चुगला (कुरा लगाउने डिहुली सहायकको प्रतीक बनाइन्छ) माटोको छोप्ने हुने पोती (भकारी) जसमा सामा चकेवाको खानका लागि चिउरा र गुँद राखिने उल्लेख छ ।
यी सबै मूर्तिहरू बनाएर त्यसलाई चामलको पिठाको झोलले पछि विभिन्न रङमा रंगाएर यसलाई सिँगारिन्छ। यी सबै मूर्तिलाई कोठी (माटोको सानो भकारी) माथि राखिन्छ। साँझ परेपछि प्रत्येक घरका किशोरीहरू एउटा बाँसको नयाँ निर्मित दौरामा (टोकरी) टुकी बालेर एउटै झुण्डमा गीत गाउँदै आ–आफ्ना घरबाट निस्केर पूर्वनिर्धारित ठाउँमा एकत्रित भएर सामा चकेवाको लोकोत्सव संगीतमय र नृत्यमय वातावरणमा मनाउँछन् ।
‘डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी । ’
सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिको कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी संवादको आनन्द उठाउँछन् ।
डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छन् । ‘हसि–मजाक’ र ‘ठट्टा’ गर्दै स्थानीय चेलीबेटीले माटोको मूर्तिहरूलाई जीवन्त राखेको आभास गराउँछन् ।
मिथिला लोक पर्व एवं संस्कृतिमा उल्लेख भए अनुसार सामा चकेवाको प्रचलन मिथिलामा प्राचीन कालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा गरिएको जानकार बताउँछन् । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना छ ।
स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा (सामा) र चकेवा पति–पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा बस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णकहाँ गई चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन् रे । कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए ।
भाइ शाम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या सुरु गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ ।
चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग बस्न थाले । त्यसै क्रममा उनीहरूको बास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानवरूपमा अवतरण भएको आख्यान रहेको छ ।
यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जंगली जीवनको अदभूत समन्वय रूप देखिन्छ ।
समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ ।