योगेशको दोहोरिने दौडमा तगारो बन्लान् खेलप्रसाद ?
काठमाडाैँ । प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा नेकपा एमालेका सचिव योगेश भट्टराई दोस्रोपटक उम्मेदवार बनेका छन् । भट्टराईका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका खेलप्रसाद बुढाक्षेत्री चुनौती बनेर उभिएका छन् ।
२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार भट्टराई २९ हजार ४ सय ७९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका थिए । यसपटक भने परिस्थिति फेरिएको छ । भट्टराई नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता गठबन्धनका उम्मेदवार बुढाक्षेत्रीसँग प्रतिस्पर्धा गर्दैछन् । एमाले विभाजनको असर ताप्लेजुङमा पनि देखिएकाले भट्टराईलाई सत्ता गठबन्धनका बुढाक्षेत्रीले टक्कर दिने आकलन गर्न थालिएको छ ।
भट्टराईले भने पार्टी संगठन र आफ्नो लोकप्रियताकै कारण निर्वाचन जित्ने विश्वासका साथ घरदैलो गरिरहेका छन् । ‘विगतमा मैले गरेका कामकै आधारमा ताप्लेजुङका जनताले मलाई २०७४ सालमा जस्तै मत दिएर प्रतिनिधिसभामा पठाउँदै छन्,’ भट्टराईले भने, ‘म हिजो पनि यहाँकै जनतासँग थिए, आज पनि छु, भोलि पनि हुनेछु । मैले गरेका सबै कामको सार्वजनिक अडिट छ, जोकोहीले हेर्न सक्नुहुन्छ ।’
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुढाक्षेत्री पनि आफूले चुनाव जित्ने दाबी गर्छन् । ‘मलाई विश्वास छ, जनताले यसपटक जिताउनेछन्,’ उनले भने ।
कस्तो छ अवस्था ?
८८ हजार २ सय ८५ मतदाता रहेको ताप्लेजुङमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । सत्तापक्षको नेकपा एस भने आंशिक रूपमा गठबन्धनमा थियो ।
स्थानीय तह निर्वाचन परिणामअनुसार ताप्लेजुङमा एमालेको २४ हजार ९ सय ९५, कांग्रेसको १८ हजार ६ सय १८, माओवादी केन्द्रको ४ हजार ४ सय ९७, नेकपा एसको ८ सय ५४, जसपाको ५ सय ४१ र राप्रपाको ३ सय ९७ मत छ ।
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले १ हजार ९ सय ७२ मत पाएका थिए । त्यस्तै स्थानीय तह निर्वाचन नतिजाअनुसार प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा एमालेको १२ हजार १ सय २५, कांग्रेसको ९ हजार ३ सय २३, माओवादी केन्द्रको २ हजार ९, स्वतन्त्रको १ हजार ७ सय ९५, नेकपा एसको ४ सय ८३ र राप्रपाको ३ सय ७९ मत छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा एमालेले १२ हजार १ सय ७०, कांग्रेसले ९ हजार २ सय ९५, माओवादी केन्द्रले २ हजार ४ सय ८८, जसपाले ५ सय ४१, नेकपा एसले ३ सय ७१ मत स्थानीय तह निर्वाचनमा पाएका छन् ।