नेता निषेधित क्षेत्रमा शेखर कोइरालाको भव्य स्वागत

विराटनगर । विराटनगर–५ को जामुनगाछीमा नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले भव्य स्वागत गरेका छन् ।

चुनाव प्रचारका लागि कोइरालासहित पुगेका प्रदेशसभा सदस्यका उम्मेदवार केदार कार्की, जीवन घिमिरेलगायत गठबन्धनका नेताहरुलाई स्थानीयले स्वागत गरेका हुन् । सो क्षेत्रलाई स्थानीयले नेता निषेधित क्षेत्र घोषणा गरेका छन् । हुलाकी सडकअन्तर्गत पर्ने जामुनेश्वर चोकदेखि केसलिया पुलसम्मलाई स्थानीयले नेता निषेधित क्षेत्र घोषणा गरेका थिए । सडक निर्माणको माग गर्दै सो क्षेत्रमा नेताहरुलाई प्रवेशमा रोक लगाएर स्थानीयले आन्दोलन गर्दै आएका थिए ।

कोइरालाले जितेर गएपछि सडक निर्माण हुने देखेर भव्य स्वागत गरिएको स्थानीय सुमन भट्टराईले बताए । उनले कोइराला राष्ट्रिय नेता भएकाले आफ्नो क्षेत्र मात्रै नभएर मोरङकै विकासमा अहम भूमिका खेल्न सक्ने उल्लेख गरे ।

‘हामीले अरु नेतालाई यस क्षेत्रमा बहिष्कार गर्दै आएका छौं,’ भट्टराईले भने, ‘शेखर कोइरालाले यो सडक बनाउनुहुन्छ भन्ने विश्वास लागेर स्वागत गरेका हौँ ।’ अरुले जितेर गएर पनि केही नगरेको बताए । नेकपा एमालेबाट जितेर गएका लालबाबु पण्डित सो क्षेत्रमा अहिलेसम्म नआएको स्थानीय रुक्मिणीदेवी कार्कीले बताइन् । सत्तामा नभए पनि स्थानीयको समस्यामा सधैं चिन्तित रहेको पाएकाले कोइरालालाई स्वागत गरिएको उनले प्रस्ट्याइन् ।

स्थानीयको समस्या सुनेपछि सम्बोधन गरेका कोइरालाले आफूले जिते जामुनगाछी सडक निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाए । कोइरालाले आफूले कोखदेखि शोकसम्म सम्बोधन हुने गरी काम गर्ने उल्लेख गरे ।

‘मलाई आश्वास दिन आउँदैन, मलाई झुटो बोल्न पनि आउँदैन र नहुने कुरा म बोल्दा नि बोल्दिन,’ कोइरालाले भने, ‘नेताबाट जनताको धेरै अपेक्षा छैन, खाली रोड बनाइदिए पुग्छ, युवाहरुलाई स्वदेशमै गरिखाने वातावरण बनाइदिए पुग्छ अरु केही चाहिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *