मोरङ क्षेत्र नम्बर ४ : उम्मेदवार खोज्दै जान्छन् मतदाता
विराटनगर । कटहरी गाउँपालिका वडा नम्बर २ को आदर्श टोलकी करिब ७० वर्षीया ईन्द्रमायाँ अधिकारीले भोट माग्न आउनेहरूलाई भव्य स्वागत गरिन् । त्यहाँ पुगेका उम्मेदवारलाई दही पनि खुवाइन् र माला लगाएर बधाई दिइन् ।
सोमबार बिहान करिब ७ बजे मोरङ क्षेत्र नम्बर ४ (२) का उम्मेदवार जीवन घिमिरे कार्यकर्ता सहित त्यो टोलमा भोट माग्न पुगेका थिए । उनले आएका उम्मेदवारलाई सम्झाउँदै भनिन् ‘चुनाव भनेको अप्ठेरो नै हुन्छ तर यो पटक राम्रो वातावरण बनेको छ, विजयी भएको देखेको छु, धेरै शुभकामना ।’
जीवन घिमिरेलाई मन पराउनुको कारण भनेको अहिलेसम्म कोही पनि जितेपछि गाउँ नै जाँदैन थिए यो ५ वर्षमा उनी निरन्तर गाउँमा जाने दुख सुखको कुराकानी गर्ने अनि अप्ठेरो साह्रोगाह्रो गरेको बेला सहजै उपलब्ध हुने भएको कारण असाध्यै राम्रो नेता भएको उनले सुनाइन् ।
अर्का जेष्ठ नागरिक अप्सरा प्रसाईँ पनि उनको उपस्थितिमा निक्कै खुसी थिइन् । जेष्ठ नागरिकको लागि भलो सोच्ने उम्मेदवारको रूपमा उनले जीवनलाई चित्रण गरिन् । उनका अनुसार यसरी भोट माग्दै दिनमा २–३ वटा समूहहरु आउने गरेका छन् । भोट माग्न आउने उम्मेदवारको हाउभाउ र अनुहारले नै हार र जीत थाहा हुने बताएकी प्रसाईँले जीवनको अनुहारले नै जितको संकेत गरेको बताइन् ।
जीवन जत्तिको अहिलेसम्म खट्ने उम्मेदवार नै नदेखेको सुनाइन् । कुनैपनि पार्टीमा झुकाव नभएको बताएका यी दुई जेष्ठ नागरिकको कुराले नागरिक कस्ता उम्मेदवार खोज्दैछन् भन्ने स्पष्ट देखिन्थ्यो ।
घरदैलोमा निस्किएका मोरङ क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार विनोद ढकाल र प्रदेश (ख) का उम्मेदवार जीवन घिमिरे सोमबार बिहानै कटहरी गाउँपालिकामा घरदैलोमा थिए । त्यहाँ पुगेका उनीहरूलाई मतदाताले उद्योगले गरेको प्रदूषण समस्या समाधान गर्न पनि आग्रह गरेका छन् ।
कुकुर खोला किनारमा बस्ने सुनिता ऋषिदेवले अहिले दुवै उम्मेदवारसामु जुटमिलले फोहोर पानी खोलामा फाल्दा प्रदूषण भएको सुनाइन् । ‘पहिला जीवन घिमिरेकै पहलमा छलफल भएर समाधान भएको थियो, फेरी फोहोरपानी छाडेको छ, उनले भनिन्, अब तपाईँले यस्तो समस्याको फेरी समाधान गरिदिनु पर्यो ।’
हिजोपनि जनताको हितमा नै काम गरेको र भोलि पनि जनताको साथमा नै हुने घिमिरेले प्रतिबद्धता जनाए । प्रतिनिधि सभाका उम्मेदवार ढकालले हिजोका दिनमा प्रतिनिधि सभामा जिताएका उम्मेदवारले कामै नगरेपछि क्षेत्र नम्बर ४ को विकासको लागि आफू प्रतिनिधि सभामा उम्मेदवार बनेकोले नागरिकका समस्यामा साझेदार भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।