लौरो अभियानले चुनावी परिणामअघि नै गण्डकीमा तोक्यो मदन केसीलाई मुख्यमन्त्री
पोखरा । गण्डकी प्रदेशसभा ६० सदस्यीय छ । लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीले ३६ प्रत्यक्ष सिटमध्ये ११ सिटमा मात्रै उम्मेदवार उठाएको छ । १३ सिटमा समानुपातिक उम्मेदवार छन् ।
प्रदेशको राजनीति हेर्दा गठबन्धन र एमाले उम्मेदवारले मात्रै चुनाव जित्ने देखिन्छ । पूरा सिटसमेत उम्मेदवार नउठाएको लौरो अभियानले गण्डकीको मुख्यमन्त्री घोषणा गरेको छ । कास्की १ (क) बाट उम्मेदवारी दिएका पाइलट कर्णेल मदन केसीलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको हो । पोखरामा पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरिएको हो ।
‘कसैको पनि बहुमतको सरकार बन्दैन । तालमेल गरेर नै सरकार बनाउने हो,’ मदनले भने, ‘२३ सिट जितेर हामी मेजर होल्डर हुन्छौँ । हाम्रो नेतृत्वमा सरकार बन्छ ।’
केसी एमालेबाट मुख्यमन्त्रीका उम्मेदवार खगराज अधिकारीसँग प्रतिस्पर्धामा छन् । स्थानीय तहको मतका आधारमा आफूहरू राष्ट्रिय पार्टी बन्न सक्षम रहेको केन्द्रीय प्रवक्ता हरि कार्कीले बताए ।
‘स्थानीय तहमा ३ सय भन्दा बढी निर्वाचित हुनुभएको छ । ४.३७ प्रतिशत मत पाएको थियो । त्यसले थप ऊर्जा प्रदान गर्यो,’ उनले भने, ‘अहिले ६५ जना प्रतिनिधिसभा, १ सय १५ भन्दा बढी प्रदेशसभा सदस्यका उम्मेदवार उठाएका छौँ ।’
उनले हाम्रो नेपाली पार्टी डमी पार्टी मात्रै भएको बताए । उनले लौरो राजनीतिक शुद्धीकरणको अभियान भएको तर्क गरे ।
‘हामी निर्वाचित भएपछि ६ महिनामा भ्रष्टाचारीलाई जेल हाल्ने प्रमुख एजेन्डा छ,’ हरि भन्छन्, ‘हामीले लौरो बाहेक धारा, पुतली र चील चुनाव चिन्हबाट लडेका उम्मेदवारलाई पनि सहयोग गरेका छौँ ।’
कर्णेल केसी ३१ वर्ष नेपाल आर्मीमा पाइलटका रूपमा काम गरेर रिटायर्ड भएका हुन् ।
‘म राष्ट्रसेवक हो, ३१ वर्ष काम गरेको अनुभव छ । ४६ वर्ष पाइलटको हैसियतमा काम गरेँ । २४ हजार घण्टा हेलिकोप्टर उडाएको छु,’ केसीले भने, ‘५ वर्ष अमेरिका, बेलायत, फ्रान्स लगायत देशमा बसेर तालिम लिएँ । अफ्रिकामा ५ वर्ष दुख गरेँ ।’
उनले देश सक्षम नभएकोले विदेशीसँग मागेर प्रदेशको विकास गर्ने बताए ।
‘हामी सम्पन्न छैनौँ, मागेरै देश चलाउने हो । हरेक वडामा प्राथमिक उपचारको व्यवस्था गर्नुपर्छ । दातृ निकायसँग माग्ने हिम्मत म सँग छ,’ उनले भने, ‘मेरो माहोल राम्रो छ, ९९ प्रतिशत जनताको साथ छ । अरू पार्टीसँग वितृष्णा छ, चाल चलन राम्रो भएको व्यक्ति खोजिरहनु भएको छ । लौरोमा लहर छ, साथ हामीलाई छ ।’