विश्वकपको मुखमा विवादमा रोनाल्डो, युनाइटेडले दियो तनाव
मकालु खबर
२०७९ कार्तिक २९ गते
अहिले विश्व फुटबलको ध्यान कतारतिर छ। तर पोर्चुगलका कप्तानको मन भने म्यानचेस्टर युनाइटेडतिर तानिएको छ। क्लबसँगको बिग्रँदो सम्बन्धका कारण विश्वकपको मुखमा गिजोलिएका छन् रोनाल्डो।
लिगबाट बिदा लिइसकेका रोनाल्डोले आइतबार एक अन्तर्वार्तामा क्लबसँगको असन्तुष्टि छताछुल्ल पारे। त्यो अन्तर्वार्ताले रोनाल्डो केन्द्रित बहस ततायो।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले अब रोनाल्डोलाई नखेलाउने बताएका छन्। रोनाल्डोले प्रशिक्षक प्रति पनि असन्तुष्टि पोखेका थिए। रोनाल्डोले म्यानचेस्टर युनाइटेडले आफूलाई धोका दिएको बताएका छन्। क्लबमा आफू खसी नरहेको र क्लबका सञ्चालकले पनि आफूलाई निकाल्न खोजेको बताएका छन्।
टेन ह्यागले आफूलाई कहिल्यै सम्मान नगरेको भन्दै आफूले पनि उनलाई सम्मान गर्न जरुरी नभएको जवाफ दिएका छन्। उनी र प्रशिक्षक बिचको सम्बन्ध केही साता अघि रङ्गशालामै देखिएको थियो।
सुरुमै मैदान प्रवेश गर्न नपाउँदा रिसाएका रोनाल्डोलाई प्रशिक्षकले अन्तिम समयमा मैदान पठाउने तयारी गरेका थिए। तर अन्तिममा रोनाल्डो मैदान जान मानेनन् र खेल नसकिँदै मैदान छाडेर ड्रेसिङ रुम फर्किएका थिए।
त्यसपछि टेन ह्यागले रोनाल्डोलाई पहिलो रोजाई मै खेलाउदै आएका थिए। विवाद मत्थर देखिएको थियो। तर अहिले रोनाल्डोको अन्तर्वार्ता पछि भने उनी र क्लबको सम्बन्धमा थप दरार ल्याएको छ।
विश्वकप सकिएको केही समयपछि खेलाडी ट्रान्सफर खुल्ने छ। त्यति बेला रोनाल्डोले क्लब छाड्ने सम्भावना बढेको छ।
आगामी साता पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो विश्वकपमा सहभागी हुनेछन्। पोर्चुगललाई उपाधि दाबेदार मानिएको छ। अहिलेसम्म दुई पटक सेमिफाइनल पुगेको पोर्चुगलले उपाधि जित्न सकेको छैन। रोनाल्डो २००६ देखि नियमित विश्वकप खेल्दै आएका छन्। डेब्यु खेलमै सेमिफाइनलसम्म पुगेका रोनाल्डोको बढिमा अन्तिम १६सम्म मात्रै पुग्न सकेको छ।
पोर्चुगल रहेको समूहमा घाना, उरुग्वे, दक्षिण कोरिया रहेका छन्। गत विश्वकपमा उरुग्वेसँग पराजित हुँदै पोर्चुगल बाहिरिएको थियो। यस पटक यी टोलीको भिडन्त समूह चरणमै हुने भएको हो। यस्तै दक्षिण कोरियालाई पनि बलियो टोली मानिएको छ। गएको विश्वकपमा दक्षिण कोरियाले जर्मनीलाई विश्वकपको समूह चरणबाटै आउट गराएको थियो।
३७ वर्षीय रोनाल्डोका लागि यो विश्वकप अन्तिम हुने करिब निश्चित छ।
मकालु खबर
२०७९ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित