चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क सञ्चालन गर्छु : सुनिल शर्मा

मोरङ । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याउने बताएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको घरदैलो अभियानमा रहेका डा.शर्माले विपन्न नागरिकको उपचारका लागि ५० शैया सहितका २५ ओटा केविन सञ्चालन गर्ने उद्घोष गरेका हुन् ।

 

२०७४ को आम निर्वाचनमा यसै क्षेत्रबाट झिनो मतले पराजित भएका डा.शर्माले आफूले चुनाव हारेर पनि जनताको सेवा जारी राखेकोमा चुनाव जितेपछि आफूमाथि जनताको अपेक्षा बढ्ने भएकाले जनअपेक्षाको सम्बोधनका लागि ५० शैयाको केविन पाँच वर्षसम्म निःशुल्क सञ्चालन गर्न लागेको स्पष्ट पारेका छन् ।

जनताको स्वास्थ्य उपचारको जिम्मा सरकारको भएको बताउँदै डा.शर्माले सरकारी कोषबाट तत्काल सम्भव नभए निजी स्रोतबाट सेवा प्रवाह गरेर भएपनि पैसा नभएकै कारणले कसैको ज्यान जाने अवस्था आउन नदिने उल्लेख गरे ।

जुनसुकै राजनीतिक आस्था बोकेको व्यक्ति भएपनि समस्यामा परेको अवस्थामा आफूले तत्काल सहयोग गर्ने प्रतिबद्धतासमेत डा.शर्माले व्यक्त गरे ।

डा.शर्माको प्रतिस्पर्धीका रुपमा एमालेका पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका भानुभक्त ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अभिनेत्री रेखा थापा मैदानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *