कतार विश्वकप

३२ देश मात्र सहभागी हुने अन्तिम विश्वकप

आफैँ आयोजना गरेर १९३० मा उरुग्वेले पहिलो विश्व विजेताको इतिहास बनायो । पहिलो विश्वकपमा १३ देश सहभागी थिए । उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई ४-२ ले पराजित गरेको थियो । युगोस्लाभियालाई पराजित गर्दै अमेरिकाले तेस्रो स्थान लियो । विश्वकपमा अमेरिकाको यो नै अहिलेसम्मको ठूलो उपलब्धि हो । त्यस यता अमेरिका सेमिफाइनल पुग्न सकेको छैन ।

दोस्रो विश्वकप १९३४ मा इटालीमा भयो । पहिलो विश्वकप जसले आयोजना गर्‍यो उसैले जितेजस्तै दोस्रो विश्वकप पनि घरेलु मैदानमा इटालीले नै राख्यो । जुन विश्वकपमा १६ देश सहभागी भएका थिए । तर चार वर्ष पछि फ्रान्सले आयोजना गरेको विश्वकपमा फेरि सहभागी देशको सङ्ख्या १५ मा झर्‍यो । फ्रान्सले भने घरेलु मैदानमा उपाधि सुरक्षित गर्न सकेन । फ्रान्समा पनि इटली नै हाबी भयो । हंगेरीलाई पराजित गर्दै लगातार दोस्रो पटक इटालीले उपाधि चुम्दा ब्राजिल सेमिफाइनलबाट बाहिरिएको थियो । स्वीडेनलाई पराजित गर्दै ब्राजिल तेस्रो स्थानमा रह्यो ।

त्यसपछि १२ वर्ष विश्वकप हुन सकेन । दोस्रो विश्वयुद्धको असरले २ वटा विश्वकप रोकियो । १९४२ र १९४६ का विश्वकप फुटबल भएन । १९५० मा ब्राजिलले आयोजना गर्‍यो । तर १२ वर्ष रोकिएर भएको विश्वकपमा फेरि उरुग्वेले नै विश्वकप जित्यो । त्यसपछि उरुग्वेले विश्वकप जित्न सकेको छैन । ब्राजिललाई घरमै २-१ ले स्तब्ध पार्दै उरुग्वेले उपाधि उचालेको थियो । त्यो विश्वकपमा स्वीडेन र स्पेन सेमिफाइनलसम्म पुगे

उरुग्वेले दोस्रो पटक विश्वकप जित्दा सहभागी देशको सङ्ख्या भने १३ देश मात्रै थिए । विश्वयुद्धबाट थलिएका धेरै शक्ति राष्ट्रहरूले विश्वकप खेलेनन् ।  त्यसपछि बिस्तारै सहभागी देशहरूको सङ्ख्या थपिँदै गयो । १९५४ मा भएको विश्वकपमा १६ देश सहभागी भए । त्यसपछिका लगातार ७ वटा विश्वकपमा १६ देशलाई नै सहभागी गराइएको थियो । १६ देश सहभागी भएको अन्तिम विश्वकप १९७८ मा अर्जेन्टिनाले आयोजना गरेको थियो । आफैँ आयोजना गरेर विश्वकप जित्ने अर्जेन्टिना चौथो देश बन्यो । त्यसअघि इङ्ल्याण्डले पनि १९६६ मा आफैँ आयोजना गरेर विश्वकपको उपाधि जितेको थियो ।

१९८२ मा फेरि विश्वकपमा सहभागी राष्ट्रको सङ्ख्या थपियो । जुन विश्वकप स्पेनले आयोजना गरेको थियो । २४ देश सहभागी रहेको त्यो विश्वकपमा जर्मनीलाई हराउँदै इटलीले उपाधि उचाल्यो । पोल्याण्ड र फ्रान्स सेमिफाइनलसम्म पुगेका थिए । १९९४ मा भएको विश्वकप २४ देश सहभागी हुने अन्तिम विश्वकप थियो । यो विश्वकप अमेरिकाले आयोजना गरेको थियो । अमेरिकामा ब्राजिलले जित्दा चौथो पटक उपाधि उचालेको थियो ।

१९९८ बाट विश्वकपमा ३२ देश सहभागी हुन थालेका हुन् । ३२ देश सहभागी भएको पहिलो विश्वकप फ्रान्सले आयोजना गरेको हो । आफैँ आयोजना गरेको विश्वकपमा फ्रान्स हाबी भयो । साबिक विजेता समेत रहेको ब्राजिललाई ३-० ले पराजित गर्दै फ्रान्सले विश्व विजेतामा आफ्नो नाम लेखायो । ३२ देश सहभागी भएपछि उपाधि दोहो-याउने देश फ्रान्स मात्रै हाे । जर्मनी, स्पेन, इटली, ब्राजिलले १-१ पटक जिते ।

तर यो विश्वकपमा पनि पूर्व विश्वकप विजेतालाई नै दाबेदार मानिएको छ । कतार विश्वकप ३२ देश सहभागी हुने अन्तिम विश्वकप हुने छ । यसपछिको विश्वकप तीन देशले आयोजना गर्दैछन् । सहभागी देशको सङ्ख्या पनि थपिने भएको छ ।

अबदेखि विश्वकपमा ४८ देश सहभागी गराउने निर्णय फिफाले गरिसकेको छ । २०२६ को विश्वकप क्यानडा, मेक्सीको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । त्यसपछिको आयोजक कतार विश्वकपकै क्रममा टुंगो लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *