आङ्बो भन्छन्- ‘दोब्बर मतले जित्छु, जनताले मुख्यमन्त्रीमा मलाई देख्न चाहेका छन्’

काठमाडौँ । प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा प्रदेश ‘ख’ मा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र नेकपा एमालेका केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङबीचको प्रतिस्पर्धा हुने छ । माओवादी केन्द्रका आङ्बो सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारका रुपमा देखिएका छन् ।

उनी ४ वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहँदा जिल्लाको विकास निर्माणले आफूले राम्रो काम गरेकाले जनता उनको पक्षमा रहेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘मेरो क्षेत्रका जनताको साथ मलाई राम्रो छ । एमालेकै साथीहरूले पनि मलाई भोट दिने सम्भावना छ । हामी गठबन्धन त झन् यो क्षेत्रमा बलियो छौँ । म एमालेको भन्दा दोब्बर मत ल्याएर प्रदेशको निर्वाचन जित्ने तयारीमा छु । जनताहरू मेरो काम देखेर खुसी हुनुहुन्छ । जनताको मलाई मुख्यमन्त्रीको रुममा देख्न चाहेका छन् । म घरदैलोमा जाँदा अब तपाईँ प्रदेशको मुख्यमन्त्री बन्नुपर्छ भन्नु हुन्छ र मेरो सम्भावना पनि छ ।’ उनी भन्छन्, ‘गठबन्धनको अंक गणितका आधारमा पनि हामी ढुक्क छौँ । हाम्रो जिलामा गठबन्धनका सबै साथीहरूले जित्ने कुरामा द्विविधा छैन । स्थानीय तह निर्वाचनमा यहाँका सबै स्थानमा गठबन्धनले जितेको छ । यो हिसाबले हेर्दा हाम्रो मत एमालेको भन्दा दोब्बरले आउँछ ।’

यो निर्वाचन क्षेत्रमा ६४ हजार ८ सय ८४ मतदाता छन् । फिदिम नगरपालिकाको ५, ६ र ९ वडा, मिक्लाजुङ, तुम्बेवा, कुम्मायक र फाल्गुननन्द गाउँपालिका पर्छन् । आङ्बो र नेम्वाङसहित प्रदेश ‘ख’ मा आठ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तर मुख्य प्रतिस्पर्धा भने नेम्बाङ र आङ्बोको नै हुने देखिन्छ । यता नेम्बाङ भने आफू एमालेको उम्मेदवार भएकाले यो पटक आफूलाई जनताले जिताउने दाबी गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *