विलियम्स दाजुभाइ विश्वकपमा छुट्टिँदै
काठमाडाैँ । विश्व फुटबलका हस्तीहरु कतारमा जम्मा हुन थालेका छन् । २०२२ को २२ औं संस्करणमा विलियम्स दाजुभाइलाई भने फरक जर्सीमा देख्न सकिनेछ ।
व्यवसायीक फुटबल एउटै जर्सीमा खेल्ने यी दाजु भाइ फरक राष्ट्रको प्रतिनिधित्व गर्दै कतारमा हुनेछन् । दाजु इनाकी र भाइ निको विलियम्स स्पेनिस क्लब एथ्लेटिको बिल्बाओबाट सँगै खेल्छन् । तर यो विश्वकपमा उनीहरु फरक जर्सीमा फरक देशको उपाधिका लागि भिड्ने छन् ।
क्लबमा एउटै जितको खोजिमा रहने विलियम्स दाजुभाइको लक्ष्य कतारमा फरक फरक हुनेछ । यसपटक दाजुले राष्ट्रियता बदल्दा दाजुभाइको टिम फरक परेको हो । स्पेनमै जन्मिएर स्पेनकै टिमबाट उमेर समूहका फुटबल खेलेका दाजु इनाकी यस पटक घानाबाट खेल्दैछन् ।
२०१५ देखि २०१७ सम्म स्पेनको यू–२१ टोलीमा रहेका इनाकीले २०१६ मा राष्ट्रिय टोलीबाट पनि खेलेका थिए । तर उनले पछि स्पेनको टिम छाडे र घाना रोजे । उनी अहिले घानाको राष्ट्रिय टिममा परेका छन् ।
उनका भाइ निको विलियम्स स्पेनको राष्ट्रिय टिममा परेका छन् । निकोले पनि यसअघि स्पेनको उमेर समूहका खेल खेलेका थिए । उनी पहिलो पटक विश्वकपमा छनोट भएका हुन् ।
इनाकी स्पेनिस क्लब एथ्लेटिक बिल्बाओका स्टार फरवार्ड हुन् । उनको नाममा स्पेनिस क्लबमा लगातार २०३ खेल खेलेको कीर्तिमान छ । स्पेनिस क्लबका कीर्तिमानी फरवार्ड आमाबुबाको देशबाट पहिलो पटक विश्वकप खेल्न लागेका हुन् ।
एउटै एकेडेमिमा हुर्किएका उनीहरुले फरक फरक देशबाट डेब्यू गरिसकेका छन् । घानाबाट स्पेनको शरणमा पुगेका विलियम्स परिवारले सुरुका दिनमा त्यहाँ कठिन समय बिताउनु परेको थियो ।
स्पेनमै जन्मिएका दाजुभाइले पनि त्यहाँ संघर्षपूर्ण जीवन यापन गरेका थिए । इनाकीले नै भाइलाई फुटबल सिकाएका हुन् । इनाकी २०१३ मा एथ्लेटिको बिल्बाओमा आवद्ध भएसँगै निकोका लागि पनि ११ वर्षको उमेरमा सोही क्लबको ढोका खुलेको हो ।
अहिले पनि दाजुभाइ खेल जीवन सुरु भएकै क्लबमा आवद्ध छन् । दुवैजना फरवार्ड हुन्। इनाकी जर्सी नम्बर ९ र निको जर्सी नम्बर ११ लगाएर खेल्छन् । जारी लिगमा इनाकीले १४ खेलमा ५ गोल र १ असिस्ट गरेका छन् ।
निको विलियम्सले पनि यो सिजन १४ खेल नै खेलेका छन् । उनले ३ गोल गरेका छन् भने ३ गोलमा नै असिस्ट प्रदान गरेका छन् । ला लिगामा विलियम्स दाजुभाइ आवद्ध क्लब शीर्ष ४ मा छ ।