एक किलो बन्दाको मूल्य १५० रुपैयाँ !

कोहलपुर । गत बुधवार बाँकेको कोहलपुरस्थित कृषि बजार स्थलमा निकै घुइँचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए । तरकारीमा मोलमोलाइ पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो । सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए ।

व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए । “हामीले पनि किनेरै बेच्ने हो । रु १० नाफा नखाएर कसरी व्यापार गर्नु”, व्यापारी विनिता गिरीले भने, “हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौँ । हामीले उत्पादन गरेका होइनौँ । किनेको मूल्यमा पाँच÷दश नाफा त खानै प¥यो नि !”

उनका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट यहाँका व्यापारीले तरकारी किनेर ल्याउँछन् । त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उनले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुगेका थिए । उनी अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित परे। “सिजनअनुसार सबै ठाउँमा रु १०-२० पर्ने बन्दाको कोहलपुरमा रु १५० भन्यो”, उनी भन्छन्, “कोहलपुर गएको मौकामा कृषि बजार स्थल पुगेँ, निकै अस्तव्यस्त देखियो । मूल्य सोधे, बन्दाको प्रतिकेजी १५० । गलत सुनेकी भनेर फेरि सोधेँ, १५० । अर्को स्टलमा सोधेँ, १५० नै । म त ट्वाँ परेँ ।”

प्रमुख विष्टले बन्दाको प्रतिकेजी रु १५० अहिलेसम्म नसुनेकै मूल्य भएको बताउँछन् । “अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ’’ उनी भन्छन्, “बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी १२ छ । बित्थडचिरको आनन्दपुरमा १५, मुस्क्यान बैतडीमा १०, खोड्पे बैतडीमा १४, अनार खोली डडेलधुरामा १५, धनगढीको दुवै हाटबजारमा ७०, सुर्खेतको पहाडी गाउँ हर्रेमा ९० रुपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो ! ”

कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु बिचौलियाका नजर परेको प्रमुख विष्टले बताउँछन् । “म त अचम्ममा परेँ”, उनले भने, “मलाई लाग्यो कि हरेक ठाउँमा उत्पादन भइरहेको तरकारीबाट कृषकले मूल्य कति पाउने रहेछन् ? उपभोक्ताले कति पाए र बिचौलियाले कति खाने रहेछन् भन्ने लाग्यो ।”
यही विषयमा बुझ्न खोज्दा एक पटक मन्त्रीसँगै व्यापारीको हात हालाहालको अवस्था सिर्जना भएको सङ्केत गर्दै प्रमुख विष्टले भने, “हुन त तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले कालीमाटी कृषि बजारमा यही प्रसङ्गमा बुझ्न खोज्दा झन्डै हातपात भएन । सुरक्षा व्यवस्था कडा भएकै कारण त्यस बखत घटना बाहिर आएन । त्यसैले मैले पनि व्यापारीसँग थप बुझ्न चाहिन।”

व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले १३० देखि १४० मा खरिद गरेको बताए । सिजनअनुसार नै बन्दाको मूल्य यस पटक बढेको उहाँको भनाइ थियो । “कोहलपुरमा बेसिजनमा त यो मूल्य ठिकै हो । यस पटक भने निकै बढेको छ । कृषकले नै बढी लिएको र , ढुवानी गर्दा महँगो परेको भनेर हामीलाई बेच्छन् । हामीले पनि रु १०÷१२ त नाफा खानु प¥यो ।” व्यापारी जिसी भन्छन् ।

अहिले राजधानीको सबैभन्दा ठुलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य रु सयको आसपास छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन । “अहिले बन्दाको थोक मूल्यसमेत रु ८०-९० छ ।” अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको उनले भने ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ । कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *