यी ६ देश जसले विश्वकपको ट्रफी घरमै राखे
काठमाडाैँ । आइतबार २२ औँ संस्करणको विश्वकप फुटबल सुरु हुँदैछ । मध्यपुर्वी देश कतारले पहिलो पटक विश्वकप आयोजना गर्दैछ । आयोजक राष्ट्रका हैसियतले कतार पनि विश्वकप खेल्न पाउने छ । विश्वकपमा ३२ देश सहभागी हुन्छन् । समूह ए मा रहेको कतारले विश्वकपको यात्रा थाल्ने छ ।
कतार फिफा -याङकिङमा ५० औँ स्थानमा छ । छनौट खेलेर उसले विश्वकपमा स्थान बनाएको होइन । आयोजकका हैसियतले सहभागी हुने मौका पाएको हो । यसअघि पनि केही देशले आयोजना गर्दा विश्वकपमा इतिहास नै कोरेका थिए ।
यस पटक कतारले त्यो प्रभाव देखाउने अनुमान त गरिएको छैन तर घरेलु मैदानमा उसलाई केही सहज भने पक्कै हुनेछ । यसअघि ६ देशले त्यस्तो प्रभाव देखाएका थिए ।
उरुग्वे
विश्वकप फुटबल उरुग्वेबाट सुरु भएको हो । १९३० मा भएको पहिलो विश्वकप उरुग्वेले आयोजना गरेको थियो । जतिबेला १३ देश सहभागी भएका थिए । घरेलु मैदानमा उरुग्वेले अर्जेन्टिनालाई हराउँदै उपाधि चुमेको थियो ।
त्यसपछि उपाधि दोहो-याउन २० वर्ष संघर्ष गर्नु पर्यो । १९५० मा ब्राजिलमा भएको विश्वकपपछि उरुग्वेले उपाधिमा नाम लेखाउन सकेको छैन । यसबाहेक उसले फाइनलको यात्रा समेत तय गर्न सकेको छैन ।
इटली
आयोजक राष्ट्रको फाइदा उठाउने अर्को देश हो इटली । उरुग्वेले जस्तै उसले पनि दोस्रो विश्वकपको उपाधि घरमै राख्यो । विश्व फुटबलमा सुरुका चार विश्वकप इटली र उरुग्वेले मात्रै जितेका थिए ।
यी बाहेकका देशले ५ औँ विश्वकपमा मात्रै खाता खोले । १९३४ मा विश्वकप आयोजना गरेको इटालीले उपाधि जितेको थियो । त्यसपछि फ्रान्समा भएको विश्वकप पनि इटलीले नै जित्यो ।
१९८२ मा स्पेनमा र २००६ मा जर्मनीमा भएको विश्वकप जित्दै इटलीले ५ औँ पटक विश्वकप जितेको छ । सुरुमा घरेलु मैदानमा फाइदा उठाएको इटलीले १९९० मा भने घरमै उपाधि रक्षागर्न सकेन । तर पछिल्ला दुई विश्वकपमा भने इटली छनोट हुनै सकेको छैन ।
इङ्ल्याण्ड
१९६६ मा इङ्ल्याण्डले पनि घरेलु मैदानको फाइदा उठायो । त्यसपछि कहिल्यै फाइनलसम्म पनि पुग्न नसकेको इङ्ल्याण्ड घरेलु मैदानकै कारण उपलब्धि पाउने तेस्रो देश हो । नन्डनमा वेस्ट जर्मनलाई ४-२ ले पराजित गर्दा विश्व फुटबलमा अर्को विजेता थपिएको थियो । त्यस यता विदेशी भूमिमा भने उसले पनि प्रभाव देखाउन सकेको छैन ।
जर्मनी
दोस्रो बढी उपाधि जित्ने देश इटली र जर्मनी हुन् । उनीहरूले ब्राजिलपछि चार चार पटक विश्वकप जितेका छन् । जर्मनीलाई पनि उपाधि दोहो-याउन घरेलु मैदानले साथ दिएको थियो ।
१९७४ मा म्युनिखमा आयोजना भएको विश्वकपको ट्रफी जर्मनीले घरमै राखेको थियो । जतिबेला फाइनलमा नेदरल्याण्ड पराजित बन्यो । पटक पटक फाइनलमा पुगे पनि नेदरल्याण्ड उपाधिविहीन छ । त्यसो त २००६ मा पनि जर्मनीले विश्वकप आयोजना गरेको थियो ।
त्यतिबेला भने उसको यात्रा सेमिफाइनलबाट अगाडी जान सकेन । त्यो विश्वकपमा पोर्चुगललाई हराउँदै जर्मनी तेस्रो स्थानमा सीमित बनेको थियो । चौथो उपाधि जर्मनीले ब्राजिलको रियो दे जेनेरियोमा जितेको हो ।
अर्जेन्टिना
पहिलो विश्वकपमै फाइनलमा पुगेको अर्जेन्टिनाले उपाधि चुम्न भने आफ्नै घर पर्खनु पर्यो । १९३० पछि सेमिफाइनलसम्म पनि पुग्न नसकेको अर्जेन्टिनाले १९७८ को विश्वकप आयोजना गरेको थियो ।
त्यतिबेला लगातार दोस्रो पटक फाइनलमा पुगेको नेदरल्याण्डलाई अर्जेन्टिनाले निराश बनाएर पठायो । अर्जेन्टिनाले भने पहिलो पटक विश्वकपमा नाम लेखाएको थियो । जुन विश्वकपमा ब्राजिल र इटली सेमिफाइनलमै रोकिएका थिए ।
त्यसपछि मेक्सीकोमा भएको विश्वकपमा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले उपाधि दोहो¥याएको थियो । अर्जेन्टिना कतारमा तेस्रो उपाधिको खोजीमा हुनेछ ।
फ्रान्स
साबिक विश्व विजेता फ्रान्सले पनि पहिलो पटक विश्वकपको उपाधि भने आफ्नै घरमा जितेको हो । त्यसअघि तीन पटक फ्रान्सले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। उपाधि भने जित्न सकेको थिएन ।
तर १९९८ मा घरेलु मैदानमा ब्राजिललाई पराजित गर्दै फ्रान्सले विश्व विजेताका रूपमा आफूलाई उभ्यायो । फाइनलमा ब्राजिल ३–० ले पराजित भएको थियो । त्यसपछि २००६ मा जर्मनीमा फाइनलसम्म पुगे पनि फ्रान्सलाई इटलीले निराश बनाएको थियो । गएको विश्वकपमा रुसमा फ्रान्सले इतिहास रच्यो ।
विश्वकप २२ औँ संस्करणमा आइपुग्दा अन्य आयोजक राष्ट्रले भने फाइदा लिन सकेका छैनन् । गत विश्वकपमा रुसले उपाधि नजिते पनि सबैलाई चक्मा दिएको थियो ।