माेरङमा मतगणना स्थलकाे पनि तयारी पूरा, ४ ठाउँमा मतगणना हुने
विराटनगर । मोरङ जिल्लामा निर्वाचनका अधिकांश तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मत गणना स्थलमा पत्रकार सम्मेलन गर्दै मोरङ जिल्लाका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले निर्वाचनको लागि गर्नु पर्ने सबै तयारी पूरा भएको बताए । निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक सबै तयारी पूरा भएको छ भने मत गणना गर्ने स्थलको पनि व्यवस्थापन भइरहेको ढुंगेलले जानकारी दिए ।
मोरङ जिल्लामा देशकै सबैभन्दा धेरै मतदाता रहेका छन् । ७ लाख ३५ हजार ५५२२ मतदाता मध्ये महिला ३ लाख ६१ हजार १९३ र पुरुष ३ लाख ७४ हजार ३२६ जनाले मतदानमा भाग लिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३०६ मतदान स्थलका ८३९ मतदान केन्द्रमा कर्मचारी पुगेर त्यहाँ गर्नु पर्ने सबै कामहरु पुरा गरिसकेको ढुंगेलले बताए ।
मोरङ जिल्लामा २ वटा अस्थायी मतदान केन्द्र समेत तोकिएको छ । यी अस्थायी मतदान केन्द्रहरूमा कारागार कार्यालय मोरङमा २०१ जना कैदी बन्दीले मतदान गर्नेछन् भने आदर्श पुस्तकालय अस्थायी मतदान केन्द्रमा कर्मचारीहरूले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएका छ। आदर्श पुस्तकालय मतदान केन्द्रमा २ हजार ५ सय ९५ जना मतदाता रहेको जानकारी दिइएको छ ।
मोरङ जिल्लामा सबैभन्दा बढी मतादाता केराबारी गाउँपालिका ६ कालापानी सामुदायिक बन उपभोक्ता समिति मतदान केन्द्रमा १०७६ जना र सबैभन्दा कम धनपालथान गाउँपालिका वडा नम्बर ७ मुसहरीटोल मतदान केन्द्रमा ३९० जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत ढुंगेलले जानकारी दिए । केन्द्रीय सुरक्षा योजना अनुसार जिल्लाको सुरक्षा योजना बनाएर जिल्लाको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।
जिल्ला भित्र ६ हजार ७ सय १२ जना निजामती कर्मचारी, २ हजार ४२ जना नेपाल प्रहरी, ३ हजार ६१६ जना म्यादी प्रहरी र १ हजार ५५ जना सशस्त्र प्रहरी परिचालित भएको प्रमुख जिल्ला अधिकारी दाहालले पत्रकार सम्मेलनमा जानकारी दिए । एकीकृत सुरक्षा योजना अनुसार ७ हजार ४ सय १७ जना सुरक्षाकर्मी परिचालित भएका छन् । ‘अहिले सबैको ध्यान मतदानमा केन्द्रित भएको छ, उनले भने, हामी निर्वाचनलाई भयरहित रूपमा सम्पन्न गर्नको लागि लागेका छौँ, त्योसँगै मतगणना स्थललाई सुरक्षित गर्ने बारेमा पनि हाम्रो छलफल भइरहेको छ।’
यी ठाउँमा मतगणना हुने यस पटकको मत गणना ४ ठाउँमा हुने भएको छ। मोरङ क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर रतुवामाई र क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय बेलवारीमा हुने जानकारी दिइएको छ। मोरङ क्षेत्र नम्बर ४,५ र ६ को मत गणना भने विराटनगरमा रहेको आदर्शमा माध्यमिक विद्यालयमा हुने मुख्य निर्वाचन अधिकृत ढुंगेललले जानकारी दिए ।