बागलुङका ४ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेस विजयी
पोखरा । बागलुङका ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बागलुङ १ (क) मा कांग्रेसका दीपेन्द्र बहादुर थापाले चुनाव जिते ।
निकै प्रतिस्पर्धामा रहेको यो क्षेत्र कांग्रेसको लागि कमजोर क्षेत्र हो । थापाले १३ हजार ८ सय ८४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका हिराबहादुर केसीले १२ हजार ४ सय ५ मत पाए ।
१ (ख) मा कांग्रेसका डिल्लीराम सुवेदीले भारी मत अन्तर सहित चुनाव जितेका छन् । सुवेदीले निकटतम प्रतिस्पर्धी एमालेका नवराज पौडेललाई ६ हजार ७५ मत अन्तरले हराएका हुन् । सुवेदीले १३ हजार ३ सय २७ मत पाउँदा पौडेलले ७ हजार २ सय ५२ मत मात्रै पाए । पौडेले नेपाली कांग्रेसबाटै विद्रोह गरेर एमालेबाट चुनाव लडेका हुन् ।
बागलुङ (क) मा कांग्रेसका जीत शेरचन विजयी भएका छन् । उनले १५ हजार १ सय ६ मत पाउँदा नजिकका प्रतिस्पर्धी एमालेको समर्थनमा उठेका माओवादीका बागी उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८ मत पाए । घर्ती अघिल्लो स्थानीय निर्वाचनमा पनि माओवादीबाटै तारा खोला गाउँपालिकाको अध्यक्षमा बागी उठेका थिए । अहिले उनी स्वतन्त्र उठेकोमा एमालेले समर्थन गरेको थियो ।
बागलुङकै २ (ख) मा कांग्रेस नेता दोर्ण कुमार कुँवर विजयी भएका छन् । उनले १२ हजार ४ सय ८ मत पाएर जित्दा नजिकका प्रतिस्पर्धी एमालेकै लक्ष्मण पुन मगरले ८ हजार ६ सय ७१ मत पाएका छन् । बागलुङमा कांग्रेस, माओवादी, जनमोर्चा सहितको गठबन्धन थियो ।