ब्राजिललाई सर्वियाको चुनौती, कसले जित्ला ?
काठमाडौँ । पाँच पटकको विश्वविजेता ब्राजिलले आज समूह ‘जी’ मा सर्वियाविरुद्ध खेल्दै कतार विश्वकपमा आफ्नो यात्रा शुरु गर्नेछ । यो विश्वकपको प्रमुख दाबेदार मानिएको ब्राजिल पाँच पटक विश्वविजेता रहे पनि सन् २००२ यता फाइनल पुग्न सकेको छैन ।
सन् २०१४ मा आफ्नै भूमीमा आयोजित विश्वकपको सेमिफाइनलमा पुगेको ब्राजिल त्यसबेला जर्मनीसँग ७-१ को लज्जास्पद नतिजामा पराजित भएको थियो । पछिल्लो संस्करणको क्वार्टरफाइनलसम्म पुगेको ब्राजिल त्यहाँ पनि बेल्जियमसँग पराजित भएको थियो ।
ब्राजिल विश्वकपको पहिलो संस्करणदेखि हालसम्मका सबै संस्करण खेल्ने एकमात्र टिम हो । टिटेको प्रशिक्षणमा रहेको ब्राजिल विश्वकपको समूह चरणका पछिल्लो १५ खेलमा हार बेहोरेको छैन । ब्राजिल सन् १९८२ यता समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।
याे पनि : कतार विश्वकपमा आज चार खेल हुँदै
तुलनात्मक रुपमा सर्वियालाई भने समूह ‘जी’ को कमजोर टिमको रूपमा लिइएको छ । सर्वियाले विश्वकपको पछिल्लो तीन संस्करणमा समूह चरण पार गर्न सकेको छैन । तर, विश्वकपको छनोटमा आठ खेलमा अपराजित रहँदै कतार आएको सर्विया ब्राजिलका लागि सहज प्रतिद्वन्द्वी नहुने पक्का छ ।
विश्वकपको पछिल्लो संस्करणमा पनि ब्राजिल र सर्विया एकै समूहमा थिए । जहाँ ब्राजिलले सर्वियालाई २-० ले पराजित गरेको थियो ।