फर्कियो विराटनगरमा कोइरालाको गुमेको विरासत
विराटनगर । स्व.गिरिजा प्रसाद कोइरालासँगै गुमेको कोइराला परिवारको विरासत डा शेखर कोइरालाले फेरी फर्काएका छन् । शुक्रबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामबाट कोइराला निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गर्न सफल भएका हुन् ।
विराटनगर महानगरपालिका ७ मा बसोबास गर्दै आएका डा शेखर २००७ साल भदौ ९ विराटनगरमा नै जन्मिएका हुन् । केशव प्रसाद कोइराला र नोना कोइरालाका छोरा डा शेखरले अल इण्डिया मेडिल साइन्स इन्ष्टिच्युट (एमस), भारतबाट एमडी गरेका छन् । कांग्रेसको भातृ संगठन नेविसंघको स्थापनाकाल २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिबाट उदाएका उनी २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा पार्टीमा लागे ।
नेपाली कांग्रेसको ११ औँ, १२ औँ र १३ औँ महाधिवेशनसम्म केन्द्रीय सदस्य भएका कोइराला १४ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल संस्थापनइत्तर समूहका नेताका रूपमा छन् । विद्यार्थी राजनीतिकालदेखि राजनीतिमा रहेका कोइराला १२ बुँदे विस्तृत शान्ति सम्झौताका सूत्रधार हुन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीको भूमिका निर्वाह गरेका उनले अन्तरिम संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गरेका थिए ।
संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेसी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशिताको व्यवस्था राख्न कांग्रेसको ह्विप नमानी संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनले राज्यबाट संविधानसभा सदस्य पदक प्राप्त गरेका छन् ।
संसदीय यात्रा भने उनको संविधानसभा सदस्य २०६५ मा भएको उपनिर्वाचनमा मोरङबाट भयो । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ ६ बाट पुनः निर्वाचित कोइराला २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ६ मा पराजित हुन पुगे । उनले २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनको बदला २०७९ सालमा पण्डितसँग लिएका छन् ।
डा शेखरले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे । कोइराला १२ हजार २८४ सय मत अन्तरले विजयी भएका हुन् ।