धनुषा २ मा मुख्य निर्वाचन अधिकृतलाई बर्खास्त गर्न माग गर्दै एमालेको प्रदर्शन
जनकपुरधाम । धनुषा २ को मतगणनामा धाँधली गरेको भन्दै मुख्य निर्वाचन अधिकृत रहेका सरकारी वकिल धर्म अवतार कोइरालालाई कारबाही गर्न नेकपा एमालेले आज जनकपुरधाममा प्रदर्शन गरेको छ ।
एमाले उम्मेदवार उमाशंकर अरगरिया र उनका समर्थकहरूले आज जनकपुरधाममा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले मुख्य निर्वाचन अधिकृत कोइरालालाई कारबाही गर, अर्को बाकसमा खसेको सदर मत गणना गर, आयोगको निर्देशिका बमोजिम मत गणना गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाएका छन् ।
उम्मेदवार अरगरियाले प्रदेशसभाको बाकसमा खसेको करिब ४ सय सदर मत गणना नगरी परिणाम घोषणा गरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गरेको आरोप लगाएका छन् ।
उनले भने, ‘५ मतले म अगाडी थिए । तर आधा घण्टामै १६ वटा वडाको मतगणना सकाएर हतार हतार परिणाम घोषणा गर्ने काम मुख्य निर्वाचन अधिकृतले गरे । मविरुद्ध ठूलो षड्यन्त्र भयो । यसविरूद्व म सडकसँगै कानूनी लडाई लड्छौँ ।’ ‘जनताको मतले म निर्वाचित भएको छुु, उम्मेदवार अरगरियाले भने, ‘कसैले कसैलाई सर्टिफिकेट दिँदैमा कोही सांसद हुन सक्दैन । जनताको सांसद म हुँ । निष्पक्ष तरिकाले पुनः मतगणना गर्न सरकार र निर्वाचन आयोगसँग माग गर्दछु ।’ मुख्य निर्वाचन अधिकृत कोइरालाले कुन मतदान केन्द्रमा कति मत खसेको र कति मत गणना भएको सूचना पनि दिन नमानेको उम्मेदवार अरगरियाको गुनासो छ ।