विश्वकपमा आजदेखि अन्तिम १६ का खेल हुने, यी टोलिबीच हुनेछ भिडन्त
काठमाडाैँ । विश्वकप फुटबलमा नकआउटको समिकरण पुरा भएको छ । शुक्रबार राति दुई समूहको खेल सकिएसँगै नकआउटमा पुग्ने १६ वटा टोलीको टुंगो लागेको हो ।
नेदरल्याण्ड, अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, जापान, क्रोएसिया, ब्राजिल र दक्षिण कोरिया नकआउटमा पुगेका छन् । यस्तै इङ्ल्याण्ड, सेनेगल, फ्रान्स, पोल्याण्ड, मोरक्को, स्पेन, पोर्चुगल र स्विटजरल्याण्डले पनि नकआउटमा स्थान बनाएका छन् ।
आ-आफ्ना खेल जित्दै गए ब्राजिल र अर्जेन्टिनाको भेट सेमिफाइनलमा हुनेछ । अर्को समूहमा साविक विजेता फ्रान्सले पोर्चुगलसँग पनि सेमिफाइनलमा भेट हुने सम्भावना बढेको छ । तर यसका लागि दुवै टोलीले आ-आफ्ना खेल जित्नु पर्नेछ ।
नकआउट चरणका खेल शनिबार रातिदेखि नै सुरु हुनेछन् । पहिलो खेलमा राति ८ः४५ बजे नेदरल्याण्ड्स र अमेरिका भिड्नेछन् । मध्यराति १२ः ४५ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल हुनेछ । यी दुई टोलीका विजेताको भेट क्वार्टर फाइनलमा हुनेछ ।
आइतबार राति ८ः४५ बजे फ्रान्स र पोल्याण्ड भिड्दा राति १२ः४५ बजे इङ्ल्याण्डले सेनेगलको सामना गर्नेछ । यी दुई खेलका विजेताको भेट पनि क्वार्टर फाइनलमा हुनेछ । सोमबार राति ८ः४५ बजे जापानले क्रोएसियाको सामना गर्दा राति १२ः४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ ।
मंगलबार राति नकआउट चरणका दुई खेल भएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लाग्ने छ । अन्तिम रात मोरक्को र स्पेन ८ः४५ बजे भिड्ने छन् भने पोर्चुगल र स्विटजरल्याण्डको खेल राति १२ः४५ बजे हुनेछ । एकै रात हुने दुई खेलका विजेताको भेट क्वार्टरफाइनलमा हुनेछ ।
आगामी शनिबार राति ८ः४५ बजे पहिलो क्वार्टर फाइनल खेल हुनेछ ।