गण्डकी प्रदेशमा को-को बन्दैछन् समानुपातिक सांसद ?
पोखरा । गण्डकी प्रदेशमा प्रत्यक्ष र समानुपातिक मतगणना सकिएको छ । प्रत्यक्ष तर्फ कांग्रेसले १८, एमालेले १२, माओवादीले ५ र एकजना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । ३६ प्रत्यक्ष र २४ समानुपातिक सहित ६० सदस्यीय प्रदेशसभामा समानुपातिक कोटाबाट को को छिर्छन् भन्ने चर्चा सुरु भएको छ ।
गण्डकी प्रदेशमा कम्तीमा २० जना महिला सांसद हुनुपर्छ । तर प्रत्यक्ष तर्फ २ जनाले मात्रै चुनाव जितेका छन् । यसको अर्थ अब १८ जना समानुपातिकबाट पूर्ति गर्नुपर्छ । नेकपा एमालेले समानुपातिकमा १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट जित्ने देखिन्छ ।
यसो हुँदा एमालेले समानुपातिकबाट कम्तीमा ५ जना महिलालाई सांसद बनाउनुपर्छ । समग्रमा २२ सिट मध्ये २ सिटमा प्रत्यक्षबाट महिला निर्वाचित भैसकेका छन् । ७ जना महिला सांसद एमालेले पु-याउनै पर्छ । बाँकी ५ जना पुरुषबाट आउन पाउँछन् । आदिवासी जनजातिबाट कम्तीमा ६ जना, दलितबाट कम्तीमा २ जना र खस आर्यबाट २ जना निर्वाचित हुने छन् । एमालेले बुझाएको बन्दसूचीका आधारमा खसआर्य महिलामा लमजुङकी यशोदा रिमाल र कास्कीकी देवका पहारी निर्वाचित हुने छिन् ।
दलिततर्फ बागलुङका गोविन्दबहादुर नेपाली तथा लमजुङकै नन्दराम विश्वकर्मा निर्वाचित हुनेछन् । आदिवासी जनजाति तर्फ महिलाबाट बागलुङकी विनाकुमारी थापा, स्याङ्जाकी निर्मला थापा र कास्कीकी राजकुमारी भुजेल निर्वाचित हुनेछन् भने पुरुषतर्फ बागलुङकै लीलबहादुर थापा र गोरखाका प्रेम गुरुङ सांसद बन्ने छन् । तथापि आयोगको नतिजापछि तलमाथि हुन पनि सक्छ ।
नेपाली कांग्रेसले पाउने ९ समानुपातिक सिट मध्ये पुरै महिला निर्वाचित हुने छन् । यसमा आदिवासी जनजातिबाट ४, खसआर्यबाट ३ र दलितबाट २ जना निर्वाचित हुने अवस्था छ । कांग्रेसको समानुपातिक बन्दसूची अनुसार आदिवासी जनजाति महिलामा म्याग्दीकी विमला गौचन, पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ सांसद बन्ने पक्का जस्तै छ ।
यस्तै, खसआर्यबाट स्याङ्जाकी सरस्वती अर्याल, बागलुङकी चम्पादेवी खड्का र स्याङ्जाकै कल्पना तिवारी तथा दलितबाट बागलुङकी दिलमाया पौवै र लमजुङकी टीकाकुमारी बस्याल सांसद बन्नेछन् । दलित तर्फको एक सिट घटाएर खसआर्यमा थप्न सक्ने सम्भावना पनि कायम छ । यो अवस्थामा टिकाकुमारी बस्यालको ठाउँमा खसआर्यबाट कास्कीकी लक्ष्मी पाण्डे सांसद बन्ने सम्भावना रहन्छ ।
माओवादीले जित्ने तीनै सिटमा महिला निर्वाचित हुनुपर्छ । प्रत्यक्षतर्फ खसआर्य पुरुष ४ जना निर्वाचित भएका छन् भने आदिवासी जनजाति पुरुष १ जना छन् । अव समानुपातिकबाट निर्वाचित हुनेमध्ये कम्तीमा १ जना दलित महिला र २ जना आदिवासी जनजाति महिला हुनुपर्छ । आदिवासी जनजाति महिलाबाट बागलुङकी कुसुम बुढा र गोरखाकी धना गुरुङ निर्वाचित हुनेछन् भने दलित महिलाबाट नवलपुरकी दमयन्ती रुचाल निर्वाचित हुनेछिन् ।
राप्रपाबाट पुरुषमा कास्कीका पन्चराम गुरुङ र महिलामा नवलपुरकी सुशीला सापकोटा थापा पहिलो नम्बरमा छन् । उनीहरू नै निर्वाचित हुने पक्का जस्तै छ । दलहरूले बुझाएको बन्दसूची र प्राप्त मतका आधारमा यो वर्ष मनाङ, तनहुँ र मुस्ताङका समानुपातिक सांसद शून्य हुने भएको छ । सबैभन्दा बढी बागलुङले ६ जना समानुपातिक सांसद पाउनेछ भने कास्की र लमजुङले समान ४, स्याङ्जाले ३, गोरखा र नवलपुरले समान २ तथा पर्वत र म्याग्दीले समान १ सांसद पाउँछन् । आगामी संसद्मा कास्की र बागलुङका मात्रै १०÷१० जना सांसद हुने सम्भावना छ ।