योमरी पूर्णिमा : के हो योमरी, किंवदन्ती र नेवारी जनविश्वास ?
काठमाडाैँ । आज नेवार समूदायको विशेष पर्व अर्थात् योमरी पूर्णिमा (यःमरि पुन्हि) हो । यस दिनको मुख्य आर्कषण नै योमरी हो । योमरी नेवार समुदायमा प्रचलित एक विशेष परिकार हो । अहिले नेवारमा मात्र नभएर अन्य समूदायमा पनि यसको लोकप्रियता बढ्दै गएको छ ।
योमरी नेवारी शब्द हो । यो दुई शब्दको योगबाट बनेको हुन्छ । ‘यो’ को अर्थ मनपर्ने र ‘मरी’को अर्थ मिठाई हो । योमरी धानको चामल, तील र चाकुको मिश्रणबाट बनाएको हुन्छ । योमरीलाई जो कोहिले पनि मन पराउने हुँदा यस परिकारको नाम नै योमरी रहन गयो ।
चामलको पिठोभित्र चाकु हालेर बनाइने यो परिकारमा कसैकसैले तीलको सट्टा खुवा पनि प्रयोग गरिएको पाइन्छ । नेवार समुदायका अधिकांश खानेकुरा ऋतुसँग जोडिएर बनाइएको हुन्छ । तातो बाफमा बफाएर बनाइने योमरी जाडो महिनामा खान अत्तिनै उपयुक्त मानिन्छ । योमरीमा रहेको चामलको पिठोमा कार्बाेहाइड्रेट, चाकुमा ग्लुकोज, तीलमा प्रोटिन जस्ता तत्व पाइन्छ । यसले शरीरलाई ताप र ऊर्जा प्रदान गर्दछ । त्यसकारण जाडो महिनामा योमरी खानु वैज्ञानिक हिसाबले पनि उपयुक्त मानिन्छ ।
योमरी पूर्णिमाको रातभन्दा अघिल्लो रातलाई वर्षकै सबैभन्दा लामो रात भनिन्छ । नेवारहरूले यस रातमा पनि निद्रा नपुगेको मानिसलाई सबैभन्दा अल्छी व्यक्तित्वका रुपमा चिन्ने गर्दछन् । त्यसकारण यस रातमा नेवार समुदायका मानिस विशेषगरी महिलाहरू रातको ३–४ बजे उठ्छन् र योमरी पकाउने काममा लाग्दछन् । भनिन्छ वर्षको जाडोलाई योमरीको चुच्चोले संकेत गरिन्छ । जाडो बढी भए योमरीको चुच्चो लामो बनाइन्छ । र कम छ भने योमरीको चुच्चो पनि अलिक छोटो बनाइन्छ ।
नेवारी किंवदन्ती अनुसार परापूर्वकालमा पनौती नगरलाई पुण्यवती नगर भनिन्थ्यो । त्यँहा सुचेन्द्र वैश्य नाम गरेका व्यक्ति थिए । जसले धेरै दान, धर्म, कर्म गरेका कारण प्रशस्त सम्पत्ति कमाएका थिए । त्यसकारण देवलोकका सबैभन्दा धनी कुबेर गरिब ब्राह्मण बनेर मंसिर शुक्ल पक्षका दिन अर्थात् आजको दिन वैश्यको घरमा कस्तो भोजन खुवाउँछ भनेर हेर्न आए । वैश्यले उनलाई मिठो भोजनले तृप्त गराए । भोजनले तृप्त भएका कारण कुबेर आफ्नो वास्तविक रुपमा फकिएर योमरी बनाएर बिमिरोसहित पूजा गर्नु र ४ दिनमा ढुकुटीमा राख्नु भन्ने सुझाब वैश्यलाई दिए । वैश्यले त्यही अनुुसार गर्दा वैश्यको घरमा झन धेरै धन वृद्धि भएको मान्यता नेवारी समुदायमा छ ।
त्यसैअनुरुप नेवारहरू यस दिनमा पकाएको योमरीलाई ढुकुटीमा राखी पूजा गर्दछन् र चार दिनपछि छोरीचेलीलाई बोलाएर प्रसाद स्वरुप खुवाउने गर्दछन् । त्यसै किंवदन्ती अनुसार योमरी पूर्णिमालाई धनदेवी सन्तुष्ट पार्ने दिनको रुपमा पनि चिन्ने गरिएको छ ।