गण्डकीमा ७ पार्टीले कटाए ‘थ्रेस होल्ड’, तर ३ पार्टीले पाएनन् समानुपातिक सांसद
पोखरा । थ्रेस होल्ड कटाएपछि समानुपातिक सांसद बन्छन् भन्ने अधिकांशको बुझाई छ । गण्डकी प्रदेशमा समानुपातिक तर्फ ७ वटा पार्टीले थ्रेस होल्ड कटाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै हाम्रो नेपाली पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत थ्रेस होल्ड समानुपातिक तर्फ कटाएका छन् ।
प्रदेशमा समानुपातिक तर्फ थ्रेस होल्ड कटाएपछि प्रत्यक्षमा चुनाव नजिते पनि सांसद बन्न पाइन्छ । तर थ्रेस होल्ड कटाएका ७ मध्ये ३ पार्टीले सांसद पाएनन् । एमाले, कांग्रेस, माओवादी र राप्रपाले सिट पाउँदा बाँकी ३ पार्टी सांसद विमुख भएका छन् । यसको कारण भनेको थ्रेस होल्ड कटाए पनि सांसद बन्न आवश्यक मत नपुग्नु हो ।
समानुपातिक तर्फ प्रदेश सभामा एमालेले सबैभन्दा बढी मत पाएको छ । एमालेले ३ लाख ६७ हजार ९ सय ८९ मत पाउँदा दोस्रो भएको कांग्रेसले ३ लाख ४९ हजार ६ सय २८ मत पाएको छ । माओवादीले १ लाख १६ हजार ९ सय ४५ र समानुपातिकबाट प्रदेश सभामा पहिलो पटक इन्ट्री गरेको राप्रपाले ५९ हजार ४ सय ८३ मत पाएको छ ।
हाम्रो नेपाली पार्टीले १८ हजार ७ सय ३७ मत पाएको छ भने एकीकृत समाजवादीले १५ हजार ७६ तथा जनमोर्चाले १४ हजार ९ सय ४० मत पायो । अघिल्लो संसदमा १ सांसद पाएको जनमोर्चा यसपालि प्रदेशसभामा निल भएको छ ।
राप्रपाले भने २ सिट पाएको छ । एमालेले १०, कांग्रेसले ९ र माओवादीले ३ सिट पाएको छ । यसअघि पनि यी तीनै पार्टीले सोही सिट पाएका थिए । १० सिट पाएको एमालेको दशौं तथा प्रदेश सभाको २४ औं सिटमा जम्मा ६ सय ३० मतको तलमाथि भएको छ । एमालेले अन्तिम सिट १९ हजार ३ सय ६७ मतबाट पाएको छ भने हाम्रो नेपाली पार्टीले उक्त मत भन्दा ६ सय ३० मत कम अर्थात् १८ हजार ७ सय ३७ मत पाएको छ ।
प्रदेश सभा समानुपातिक सिट बाँडफाँट गर्ने व्यवस्था अनुसार यदि हाम्रो नेपाली पार्टीले ६ सय ३० भन्दा बढी मत थपेको भए एक सिट उक्त पार्टीले पनि पाउन सक्थ्यो । उक्त पार्टीले गण्डकीमा बहुमत ल्याएर सरकार बनाउने घोषणा गरेको थियो । चुनाव अघि नै कास्की १ ९क० का उम्मेदवार मदन केसीलाई मुख्यमन्त्री घोषणा गरिएको थियो । तर एक सिट सांसद पनि पाएन ।