रकम अभावका कारण रंगशाला निर्माण अलपत्र
काठमाडौं । गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका- ६, अमरपुरको बुल्मचौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को दुई करोड ५० लाख रुपियाँमा माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौँसँग सम्झौता भएको थियो । उक्त कार्य २०७६ साल चैतमा सम्पन्न भए पनि अन्य काम अन्योलमै छ ।
अहिले उक्त स्थान गाडी चलाउन सिक्ने ठाउँका रूपमा समेत परिणत हुन थालेको छ। यहाँ खाल्टाहरू परेका छन् र पर्खालि पनि भत्किँदै गएको छ । रोपिएको दूबोको नामनिशान छैन । झार पलाएको छ ।
झन्डै एक अर्ब रुपियाँको लागतमा निर्माण सक्ने गरी १०५ मिटर लम्बाइ र ६ मिटर चौडाइको रङ्गशालामा कभर्ड हल र स्विमिङ पुलसहितको डीपीआर भएको थियो । रकम अभावका कारण काम अलपत्र परेको राष्ट्रिय खेलकुद परिषद् निर्माण शाखाका प्राविधिक माधव देवकोटाले जानकारी दिए ।
६५ वर्षीय कृष्णबहादुर कुमालले पहिले यहाँको रातो माटो खनेर मकैसरी साटेर खाएको अनुभव सुनाउँदै अब ती सबै कथाजस्तै भएको बताए। उनले न अब रातो माटो खन्न पाइने भयो न त रङ्गशाला नै बन्यो भन्दै दुःखेसो पोखे ।