मनोरञ्जन क्षेत्रका पीडादायी तथ्य: ९० प्रतिशत बालिका कामदार, सबै जोखिममा
पोखरा । मनोरञ्जन क्षेत्र बाहिरबाट हेर्दा जति रमाइलो छ, त्यसको भित्री कथामा पुग्दा उत्तिकै पीडादायी छ । एक अध्ययन अनुसार यस क्षेत्रमा काम गर्ने अधिकांश बालिका हुने र उनीहरू सधैँ यौन र श्रम शोषणको जोखिममा पर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।
शक्ति समूहले गरेको अध्ययन अनुसार अध्ययनमा समेटिएका मध्ये बागमतीमा सबैभन्दा बढी जोखिम छ भने गण्डकी प्रदेश दोस्रो जोखिम प्रदेशका रूपमा देखिएको छ । १८ प्रतिशत बालिका यहाँ जोखिममा पर्ने गरेका छन् । सबैभन्दा धेरै बागमतीमा ३८ प्रतिशत र लुम्बिनीमा १५ प्रतिशत छ । जातीय हिसाबले पनि समुदायमा पछि पारिएका समुदायलाई बढी जोखिम हुने गरेको देखिएको छ ।
सबैभन्दा बढी आदिवासी जनजाति तर्फका बालिकाहरू जोखिममा परेको देखिएको छ । त्यस्ता बालिका र किशोरीहरू ३९ प्रतिशत छन् । त्यसपछि दलित समुदायका बालिका र महिलाहरू ३१ प्रतिशत जोखिममा छन् । यो क्षेत्रमा काम गर्ने मध्ये अविवाहित र १६ वर्ष मुनिका बालिका बढी समस्यामा पर्छन् । अध्ययन अनुसार जोखिममा परेर उद्धार गरिएका मध्ये १० देखि १६ वर्ष उमेरका ६१ प्रतिशत बालिकाहरू छन् । १६ देखि १८ वर्ष उमेरका २१ प्रतिशत छन् । बाँकी अन्य उमेर समूहका रहेका शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले बताइन् ।
विशेषगरी पर्यटकीय चहलपहल हुने क्षेत्रमा यस्ता जोखिम बढी देखिएको उनले सुनाइन् । ‘राती अबेरसम्म काम गर्नुपर्ने बाध्यतामा छन् । निवासमा फर्किन सुरक्षित सवारी छैन,’ उनले भनिन्, ‘दुख परेपछि काममा आउने हो । दुखमा परेकाहरूलाई सञ्चालकहरूले झनै दुख दिन्छन् ।’
शक्ति समूहले त्यस्ता ठाउँबाट हालसम्म १ हजार ५ सय २० जनालाई उद्धार गरिसकेको जनाएको छ । जोखिम रोकथाम, उद्धारपछि संरक्षण, उनीहरूको क्षमता अभिवृद्धि गर्दै जीविकोपार्जनमा समेत सहयोग पुर्याउने र निरन्तर पैरवी गरिरहने शक्ति समूहकी सरिता पौडेलले बताइन् । अधिकांशलाई समुदायमा पुनः स्थापनाका काम पनि समूहले गरिरहेको छ ।