बुढानीलकण्ठमा ‘हरिहर’को नित्य पूजा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको उत्तरी भेगमा अवस्थित बुढानीलकण्ठ मन्दिरमा रहेको हरिहरको मूर्ति नेपालका प्राचीन मूर्तिहरूमा पर्दछ । यो विश्वकै प्राचीन ठूला हिन्दु मूर्तिहरू मध्य एक हो । खासगरी हिन्दु धर्मावलम्बीहरूले महादेव र नारायणको संयुक्त रूप अर्थात् ‘हरिहर’को रूपमा बुढानीलकण्ठलाई पुज्दछन् ।

प्रचलित किम्बदन्ती अनुसार नीलकण्ठ नाम गरेका एकजना बुढा किसानले आफ्नो खेतमा बनाएको खलोबाट जति धान निकालेपनि खलो खाली नभएपछि उक्त ठाउँमा खनेर हेर्दा रगत निस्किएको र थप खन्दा सुतेको अवस्थामा हरिहरको मूर्ति भेटिएको उल्लेख रही आएको पाइन्छ । यसरी खन्ने क्रममा मूर्तिको देब्रे खुट्टाको बुढी औँला काटिएर रगत बगेको थियो । यही किम्बदन्तीको आधारमा बुढानीलकण्ठलाई आफै उत्पत्ति भएको भन्ने जनविश्वास रहँदै आएको छ ।

अर्को एक किम्बदन्ती अनुसार द्वापर युगमा शिवपुरी राज्यमा राज्य गर्ने सूर्यकेतु नाम गरेका राजाले हरेक वर्ष बद्रीनाथ र केदारनाथको दर्शन गरेर मात्र अन्न ग्रहण गर्दथे । समयकाल सँगै उनको उमेर ढल्कँदै गएपछि एक दिन उनले भगवान् बद्रीनाथ र केदारनाथलाई आफू बुढो भएको र त्यहाँ सम्म जान नसक्ने भएकोले एकै ठाउँमा बसिदिन आग्रह गरे । उनको आग्रहलाई स्वीकार गर्दै बद्रीनाथ र केदारनाथ एकैरुप भई बुढानीलकण्ठको रूपमा उक्त स्थानमा उत्पत्ति भएको जनविश्वास पनि रही आएको छ ।

हिन्दुहरूले बुढानीलकण्ठलाई बद्रीनाथ र केदारनाथको संयुक्त प्रतिमूर्तिको रूपमा पुज्ने गर्दछन् । बद्रीनाथ र केदारनाथको यही संयुक्त रूपको दर्शन गर्न भारतबाट समेत बर्सेनि हजारौँको सङ्ख्यामा भक्तजनहरू बुढानीलकण्ठ आउने गर्दछन् । यस मन्दिरमा हरेक दिन बिहान ७ः३० बजेदेखि नित्य पूजा हुने गरेको छ । १६ वर्ष मुनिका बटुकहरूबाट रुद्री पाठ, सोह्र शृंगारसहितका कर्म गरी विधिवत् रूपमा नित्य पूजा गर्ने प्रचलन छ ।

थप तस्बिरहरू:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *