पोखरा औद्योगिक क्षेत्रमा ७ सय प्रतिशत भाडा वृद्धि, उद्योगी आन्दोलित
पोखरा । अस्वभाविक रुपमा औद्योगिक क्षेत्रको जग्गा भाडा असुल गर्न लागेको भन्दै पोखरा औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरु आन्दोलित बनेका छन् । प्रतिरोपनी ६ हजार ३ सय रहेको पोखरा औद्योगिक क्षेत्रको जग्गा भाडा बढाएर प्रतिरोपनी वार्षिक ५४ हजार पु¥याइएको छ । त्यो पनि २०७५ सालदेखि भाडा बढेको भन्दै एकमुष्ट भुक्तानीका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ताकेता गरेपछि यहाँका उद्योगीहरु आन्दोलित बनेका हुन् ।
लिमिटेडले सबै जग्गामा करिव ८ सय प्रतिशत भाडा बढाएको छ । अस्वभाविक भाडा बृद्धीको विरोधमा उद्योगीहरुले सबै उद्योगमा कालो झण्डा टाँगेका छन् भने दैनिकजसो ज्ञापनपत्र बुझाएका छन् । लिमिटेडले २०७५ साल मंसिर ५ गतेदेखि भाडा बढेको र त्यतिबेला देखि अहिले सम्मको भाडा भूक्तानी गर्न पत्र पठाएको पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार बढेको भाडा फिर्ता नलिएसम्म अझै कडा आन्दोलनको तयारी छ ।
‘हामीमाथी अन्याय भएको छ । बढेको भाडा तिर्ने त परकै कुरा बरु पानी बत्तिको विल समेत तिर्न छोड्छौं,’ उनले भने । उनीहरुले कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् भने सबै उद्योगमा कालो झण्डा टाँगेका छन् । सबै ठाउँमा कालो ब्यानर टाँगिएको छ । पोखरा औद्योगिक क्षेत्रका उद्योगीले ४० वर्षका लागि जग्गा भाडामा लिएका छन् । नियमावली अनुसार हरेक ५ वर्षमा भाडादर पुनरावलोकनको व्यवस्था छ । तर लिमिटेडले ४ वर्ष नपुग्दै अस्वभाविक भाडा बढाएको आरोप उद्योगीको छ । २०६९ सालमा एकैपटक १४ सय प्रतिशतले भाडा बढाइएको थियो ।
चर्को भाडा बढाएर उद्योगीमाथी अन्याय गरेको गुनासो छ, औद्योगिक क्षेत्रमा उद्योग सन्चालन गर्दै आउनुभएका गोकर्ण कार्कीको । पोखरा उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले कुनै हालतमा बढेको भाडा नतिर्ने बताए । ‘२०७५ सालदेखि वर्षेनी तोकिएकै भाडा तिरिएको छ । सँधै ६ हजार ३ सय तिरेको हो । कसैले केही भनेन,’ उनले भने, ‘अहिले आएर ७५ सालदेखिको बढेको भाडा माग्नु गैर न्यायिक काम हो । हामी यसको विरोध गर्छौं ।’
नेपालभर १० वटा औद्योगिक क्षेत्र छ । सबै ठाउँमा जग्गाको भाडा बढाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापान लिमिटेडले गत साउन २ गतेदेखि २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेको थियो । अहिले लिमिटेडले पुनः पत्र काट्न थालेको उद्योगीहरुको गुनासो छ । आफुहरुले माथीकै निर्णय कार्यान्वयन गरेको औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख किशोर कुमार पाण्डेले बताए । ‘समिति बनेको थियो । काम गरेको छैन,’ उनले भने, ‘अहिले राजनीतिक घटनाक्रमका कारण केही निर्णय नआएको हो । नयाँ सरकार बनेपछि टुंगो लाग्न सक्छ ।’
पोखरा औद्योगिक क्षेत्र २०३१ सालमा स्थापना भएको हो । यहाँ ५ सय १ रोपनी जग्गा सरकारी छ । हाल ७७ वटा उद्योग सन्चालनमा छन् । पोखराको औद्योगिक क्षेत्रबाट मात्रै वार्षिक ५० करोड भन्द्या बढी राजश्व सरकारलाई बुझाउँदै आएको छ । एकतर्फी रुपमा अप्रत्यासित भाडा बढाएपछि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् भने दैनिक प्रदर्शन गरिरहेका छन् ।