मेयर हर्कविरुद्ध दलहरूले भने- ‘मपाईंतन्त्री, दम्भी र उद्दण्ड अधिनायकवादको उदय’ 

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध धरानका ६ राजनीति दलले संयुक्त वक्तव्य जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

संयुक्त वक्तव्य जारी गर्दै नेकपा एमालेका हर्कजंङ एभेङ, नेपाली कांग्रेसका श्याम पोखरेल,  नेकपा माओवादी केन्द्रका चोत्लुङ फोक्वाहाङ (सुब्बा), जनता समाजवादी पार्टीका ताजुव लिम्बु, नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरानका दोर्जे शेर्पाले धरानका मेयरको पछिल्लो अभिव्यक्ति गलत भएको बताएका हुन् ।

नेतृत्वको हैसियतमा समस्या समाधानको लागि पहल कदमी लिने र यस्तो अवस्थामा अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर पत्रकार सम्मेलन गरी कार्यपालिकाका सदस्यहरूलाई धम्क्याउने तवरले राजीनामा दिनु भन्ने शब्द प्रयोग गरिएको प्रति दलहरूले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘केवल आफूलाई प्राप्त मतलाई बहुमत बहुमत भन्दै दम्भराखी आफू जस्तै जननिर्वाचित प्रतिनिधिहरूको राजीनामा माग्नु कुन नैतिकता हो  ? दलहरूको विज्ञप्तिमा भनिएको छ, ‘समस्या समाधान गर्न छाडेर नेतृत्व आफैँ प्रतिवादमा उत्रने कार्यले धरानवासी जनताले अपेक्षा गरेको विकास तथा समृद्धिको चाहनालाई कुठाराघात गरेको हाम्रो ठहर छ ।’

दलहरूले मेयर साम्पाङको अभिव्यक्तिले समस्या समाधान गर्नुभन्दा बल्झाउने बताएका छन् ।  दलहरूले तत्काल नगर प्रमुख हर्कराज राईलाई आफ्नो शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समस्याको समाधान खोज्न र सामूहिक नेतृत्व सहितको समन्वय, सद्भाव  र सहकार्यको अवधारणा अनुरूप अघि बढ्न आग्रह गरेका छन् ।

दलहरूले विज्ञप्तिमार्फत भनेका छन्– ‘हजारौँ सहिदहरूको वलिदान, र लाखौँ लाख पार्टी कार्यकर्ता र नेपाली जनताको रगत र पसिनाबाट स्थापना भएको लोकतान्त्रिक व्यवस्थामा एउटा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घटनाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाईंतन्त्र, दम्भ र उद्दण्डसहितको अधिनायकवादको उदय हुन लागेको आभाष भएको छ ।’

२०७९ असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेन्डामाथि कार्यपालिकाका सदस्य अनुप देवानले आफ्नो राय राखी रहँदा बैठकको अध्यक्षता गरिरहेका नगरप्रमुख राईले कार्यपालिका सदस्य देवानलाई राय राख्न नदिई बैठक छाडेर बाहिर जान भनेपछि सम्पूर्ण कार्यपालिका सदस्यहरुले आफूहरूको अपमान भएको महसुस गर्नुलाई दलहरूले अस्वाभाविक रूपमा लिएको उल्लेख गरेका छन् ।

 

यस्ताे छ विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *