मण्डलामा ‘कुभिण्डोको कथा’ : सबैकाे समान अस्तित्वको खाेजी

काठमाडाैँ । मंसिर १९ देखि काठमाडौँको मण्डला नाटकघरमा ‘कुभिण्डोको कथा’ प्रदर्शन भइरहेको छ । दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ एक दुःखान्त लोककथामा आधारित नाटक हो । नाटकमा पश्चिम नेपालको खाम मगर समुदायलाई दखाइएको छ ।

नाटककी मुख्य पात्र खेमाको माध्यमबाट कथा सुरु हुन्छ । नाटकको सुरुमा खाम मगर समुदायका मानिसहरु आकाशबाट पानी परोस् भनेर संस्कृतिक नाच नाचिरहेका हुन्छन् । समुदायलाई उक्त नाचको कारण थाहा नहुँदा एक वृद्ध महिलालाई एक युवतीले प्रश्न गर्छिन् । वृद्ध महिलाले पूरै समुदायलाई कथा सुनाउन थाल्छिन् ।

अनुमानित सात आठ वर्षकी पात्र खेमालाई सानैदेखि आमाले मात्र हुर्काएकी हुन्छिन् । उनका बुबा भने उनका सौतेनी आमासँग बसेका छन् भन्नेकुरा उसले आमाबाट नै थाहा पाउँछिन् । उमेर सानो भए पनि आमालाई हरेक काममा सघाउने खेमालाई नाटकमा उदाहरणीय पात्रको रुपमा उभ्याइएको छ । साथीभाइ र गाउँलेबाट अपमानित र अपहेलित पात्र खेमा, सबैबाट माया पाउन चाहन्छिन् ।

त्यसैक्रममा लामो समयदेखि पानी नपरेर गाउँमा अनिकाल लाग्न थाल्छ । अनिकालमा बहिनिले ‘पानी पानी’ भनेर रुँदा दाइले बहिनिको आँसु पुछेर खाएको दृश्य एकदमै मार्मिक, दर्दनाक र पीडादायी देखिन्छ । अनिकालले गर्दा गाउँका सबै मानिस एकएक गर्न मर्न थाल्छन् ।

त्यसपछि खेमा र उनको आमालाई आइपरेको विपत्ती, गाउँलेहरूले के कसरी अनिकालको सामना गरे ?, गाउँलेहरू अनिकालबाट कसरी मुक्त भए ? यी यस्ता कौतुहलतालाई नाटकका अरु दृष्यले मेटाउने प्रयास गरेका छन् ।

प्रकृतिले हामीलाई एक अर्काबाट भिन्न बनाएको छ । कोही बलिया छौँ, कोही कमजोर छौँ । त्यसकाण एकअर्काको अस्तित्वलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्ने भाव ‘कुभिण्डोको कथा’ नाटकमा पाइन्छ । अब्बल नाटक, समुदायअनुसारको भाषा, भेषभुषा, गीतसङ्गीत र नृत्यले नाटकलाई जीवन्त पारेका छन् ।

कुभिण्डोको कथा नाटकले विविध दुःखान्त विषयवस्तु समेटेको भए पनि दर्शकलाई रुवाउन भने असफल देखिन्छ । नाटकमा कथाले मागअनुसारको परिवेश नहुँदा नाटक अझ चित्रात्मक बन्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *